यी हुन् विश्वकपका लागि हालसम्म छानिएका १९ राष्ट्र
काठमाडौं । उरुग्वे, इक्वेडर, जापान र साउदी अरेबिया यसै वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएका छन् ।
यससँगै विश्वकप २०२२ मा छनोट हुने राष्ट्रको संख्या १९ पुगेको छ ।
उरुग्वे र इक्वेडर दक्षिण अमेरिकी क्षेत्र तथा जापान र साउदी अरेबिया एसियाली क्षेत्रबाट छनोट भएका हुन् ।
आज बिहान भएको खेलमा पेरुलाई १–० ले हराउँदै उरुग्वे विश्वकपका लागि छनोट भएको हो ।
यस्तै, इक्वेडर भने पाराग्वेसँग ३–१ ले पराजित हुनका बाबजुद अरु टोलीको नतिजाका आधारमा विश्वकपमा छनोट भएको हो ।
यता, जापानले गएराति भएको खेलमा अष्ट्रेलियामाथि २–० को नतिजा निकालेर विश्वकपमा स्थान बनाएको हो । यसैगरी, साउदी अरेबिया भने चीनसँग १–१ गोलको बराबरी खेल्नका बाबजुद विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

यसअघि इरान एसियाबाट छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको थियो । त्यसपछि दक्षिण कोरिया छनोट भएको थियो ।
३२ देश सहभागी हुने विश्वकपमा एसियाली राष्ट्र कतार भने आयोजकको रूपमा सन् २०१० मै खेल्ने निधो भइसकेको थियो । कतारले मतदानमा बाजी मार्दै आयोजक बनेको थियो ।
बाँकी ३१ देशमा युरोपबाट १३, एसियाबाट चार वा पाँच, अफ्रिकाबाट पाँच, दक्षिण अमेरिकाबाट चार वा पाँच, उत्तर अमेरिका, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट तीन वा चार र ओसियानाबाट शून्य वा एक टोली छनोट हुन्छन् ।
यसको अर्थ दुई टोली अन्तरमहादेशीय प्ले अफबाट छनोट हुनेछन् ।

यस क्रममा युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्याण्ड, स्विट्जरल्याण्ड र नेदरल्याण्ड्स छनोट भएका छन् ।
दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे छनोट भएका छन् ।
अब १३ देश छानिन बाँकी छन् ।
अहिलेसम्म ब्राजिलले पाँच, जर्मनी र इटालीले चार–चार, अर्जेन्टिना, फ्रान्स र उरुग्वले दुई–दुई तथा स्पेन र इंल्याण्डले एक–एकपटक विश्वकपको उपाधि जितेका छन् ।
इटाली भने गएराति प्ले अफको सेमिफाइनलमा उत्तरी मेसेडोनियासँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरिइसकेको छ । यसअघिको विश्वकपमा पनि इटाली छनोट हुन सकेको थिएन ।

विश्वकपमा छानिएका १९ देशको सूचि :
१. कतार
२. ब्राजिल
३. जर्मनी
४. डेनमार्क
५. फ्रान्स
६. बेल्जियम
७. क्रोएसिया
८. स्पेन
९. सर्विया
१०. इंग्ल्याण्ड
११. स्विट्जरल्याण्ड
१२. नेदरल्याण्ड्स
१३. अर्जेन्टिना
१४. इरान
१५. दक्षिण कोरिया
१६. जापान
१७. साउदी अरेबिया
१८. इक्वेडर
१९. उरुग्वे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया