वडाध्यक्षको पारिश्रमिकबाट ६१ घरपरिवारलाई स्वास्थ्य बीमा
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले ६१ घरपरिवारलाई स्वास्थ्य बीमा गरिदिएका छन् ।आर्थिक वर्ष २०७९/८० मा आफुले पाउने पारिश्रमिकबापतको सेवासुविधबाट विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिदिएका हुन् ।
वडाध्यक्ष उप्रेतीले शुक्रबार गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गत बीमा बोर्डलाई रु दुई लाख १३ हजार पाँच सयको ‘चेक’ हस्तान्तरण गरे । सो अवसरमा उनले निर्वाचनका समयमा गरेको प्रतिवद्धता अनुसार आफूले पाउने सेवासुविधाबाट विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिदिएको बताए ।
उनले भने, ‘स्वास्थ्य बीमा गर्न नसक्दा यहाँका विपन्न नागरिक सामान्य बिरामी हुँदासमेत चन्दा माग्दै हिँड्नुपर्ने बाध्यता छ, मैले निर्वाचनकै बेला सेवासुविधा नलिने घोषणा गरेको थिएँ, सोहीअनुसार आज विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिएको छु ।’
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाले १० प्रतिशत विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य रहेको जानकारी दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले जनप्रतिनिधिको हैसियतले गरिएको यो नमूना काम भएको जनाउँदै नागरिकसँग जोडिने काम गरेकामा धन्यवाद दिए । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले जनताको चाहना अनुसार काम गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया