सरकारले भन्यो- सुन तस्करी प्रकरणमा अर्को समिति आवश्यक छैन

काठमाडौं। सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि अर्को समिति आवश्यक नरहेको बताएको छ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागमार्फत नै प्रभावकारी भइरहेको भन्दै अर्को समिति आवश्यक नभएको बताएकि हुन्।
‘तस्करीको रुटकजमा पुग्छौं भन्ने कमिटमेन्टसहित राजनीतिक नेतृत्व लागिरहेको बेला अर्को समिति बनाउने, विषयवस्तु डाइभर्ट गर्ने कुराले अनुसन्धान प्रक्रियामा पनि प्रभाव पार्छ,’ मन्त्री शर्माले भनिन्।
’विभागले गरेको छानबिनमा विश्वास गरौँ । यदि छानबिनमा गडबढ हुने थियो भने सुन पक्राउ पर्ने नै थिएन, ’ उनले भने, ’अनुसन्धानका क्रममा केही व्यक्ति पक्राउ परिसकेका छन् र अनुसन्धान जारी छ । छानबिनकै क्रममा पछि आवश्यकता परेमा त्यस्ता समिति गठन गर्न पनि सकिन्छ तर अहिले आवश्यक छैन र त्यसरी समिति बनाउँदा अहिले भइरहेको छानबिन प्रभावित हुन पनि सक्छ ।’
सोही प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समितिको माग गर्दै संघीय संसदमा गरिरहेको अवरोध हटाउने विषयमा समेत कुराकानी भइरहेको उल्लेख गर्दै उनले छिट्टै सदनमा देखिएको अवरोध हट्नेमा विश्वास व्यक्त गरिन्।
विभागले यही साउन ३ गते विमानस्थल भन्सारबाट बाहिरिएको अवस्थामा झण्डै एक सय किलो सुन बरामद गरेको थियो। विभागले सो प्रकरणमा संलग्न भएको आशंकामा १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया