मौसममा दुई प्रणालीको प्रभाव, लगातार तीन दिन वर्षा हुने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने प्रक्षेपण गरेको छ । वर्षाका कारण बाढी र पहिरोको जोखिम हुने उल्लेख गर्दै महाशाखाले सचेत हुन आग्रह गरेको छ ।
नेपालको मौसममा अहिले मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। महाशाखाका अनुसार, त्यही कारण केही दिनदेखि लगातार वर्षा भइरहेको छ ।
मौसमविदले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली हुने अनुमान गरेका छन् । महाशाखाको नियमित बुलेटिनअनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना महाशाखाले औंल्याएको छ ।
मौसमविद्का अनुसार, वर्षा हुने क्रम आइतबार राति पनि जारी रहनेछ ।
त्यस्तै, महाशाखाले सोमबार र मंगलबार पनि देशका अधिकांश भागमा वर्षा हुने जनाएको छ । त्यसपछिका दिनको मौसमी अवस्थाबारे भने अहिले नै अनुमान गर्न नसकिने मौसमविदको भनाइ छ । नेपालमा हाल तीन दिनभन्दा बढीको मौसमी अवस्था अनुमान गर्ने प्रणाली छैन ।
भारी वर्षाले बाढी र पहिरोको खतरा हुनसक्ने भन्दै महाशाखाले दैनिक जीवनयापन र यात्राका क्रममा सचेत रहन अपिल गरेको छ ।
‘लगातार वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय तथा हावा हुरीजस्ता प्रकोप हुन सक्ने भएकाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाद्वारा जारी बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनिएको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया