कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन
संखुवासभा । जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । सो घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।
यहाँको जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भएको थियो । मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकास बलामी रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
गए राति १ बजे कारागारको चर्पीबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डिएसपी गोदारले बताए । उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा पुर्याइएको र सोही अस्पतालमा उनीहरुको मृत्यु भएको जेलर राजेन्द्र घिमिरेले बताए ।
बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसी छानबिन समिति गठन गरेको हो । घटनाको छानबिनका लागि समिति गठन गरिएको र छिट्टै सत्यतथ्य बाहिर आउने प्रजिअ शिवकुमार कार्कीले जानकारी दिए ।
ताजा अपडेट
-
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
-
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया – सहकारी ठगीबारे लेख्न एक इन्च पछि हटिन्न
-
फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान
-
नीति तथा कार्यक्रममाथि छलफल शुक्रबार हुने
-
अर्को शुक्रबार बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित
प्रतिक्रिया