सुनिल शर्मामाथि पुर्वाग्रह बिनाको छानबिन हुनुपर्छ : महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैन सिंह महरले सांसद सुनिल शर्मामाथी निश्पक्ष छानविन हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमा नेता महरले पुर्वाग्रह बिनाको निश्चपक्ष छानविन गर्दै दोषीमाथि कार्यवाही हुनुपर्ने र निर्दोष कुनै हालतमा फस्न नहुने उल्लेख गरेका छन् ।
महरले लेखेका छन्, ‘कानुनी राज्यमा पुर्वाग्रह बिनाको निश्चपक्ष छानबिनका माध्यमले दोषि माथि कारबाही हुनुपर्ने र निर्दोष कुनै हालतमा फस्न नहुने कुरामा हामी स्पस्ट नै छौं । प्रहरिको नियन्त्रणमा रहेका सांसद सुनिल शर्मा जीको हकमा पनि पुर्वाग्रह बिनाको छानबिन हुने कुरामा हामी विश्वस्त छौं।’
कांग्रेस सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बिहीबार पक्राउ गरेको थियो । शर्मामाथि शैक्षिक प्रमाण पत्र कीर्ते गरेको आरोप लागेको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले भने सुन तस्करि प्रकरणमा गृह र अर्थमन्त्रीको राजीनामा मागेकै आधारमा पक्राउ गरिएको बताइरहेका छन् ।
यस्तै महरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि सुन तस्करि प्रकरणमा राज्यस्तरबाट भइरहेको अनुसन्धानमा आशंका नगर्न आग्रह गरेका छन् । उनले सरकारले गरेको छानबिनमा विश्वास नलागे अर्को उच्चस्तरीय छानबीन समिति बनाएर अगाडी बढ्न सकिने उल्लखे गरेका छन् ।
‘बहुचर्चित सुन काण्डको पनि निश्चपक्ष छानविन हुनुपर्ने कुरामा कसैको दुई मत हुन सक्दैन र दुई मत छैन पनि । तर जनताको जनजिविकालाई वेवास्ता गर्दै लामो समयदेखि संसदको बैठक अवरुद्ध गरिरहेको नेकपा एमालेलाई मेरो के भनाई छ भने, सुनकाण्डको छानबिनका लागि पहिले हाम्रो राज्य संयन्त्रहरुले गरिरहेको छानबिनमा बिनाशंका सहयोग गरौं,’ उनले भनेका छन्, ‘यदि जनता र स्वयम एमालेलाई समेत छानबीनबाट आएको रिपोर्टमा शंका लाग्यो भने फेरि अर्को उच्चस्तरीय छानबीन समिति बनाएर अगाडी बढदा फरक पर्दैन ।’
क्वीन्टल सुन तस्करि प्रकरणमा उच्चस्तरिय छानबिन समितिको माग गर्दै साउन १० गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरुद्व गर्दै आएको छ ।
प्रतिक्रिया