पिताजीको कपडा पसल
पिताजीको औंला समाउँदै पहिलो पटक मुजफफरपुर पुग्दा म सात/आठ वर्षको थिएँ हुँला । जीवन र जगत् वोध भइनसकेको म सानो भुरा, मेरा लागि त्यो बम्बई थियो । हामी वीरगञ्जका बासिन्दा । यहाँको मुख्य सडक महावीर मन्दिरनजिक मेरा पिताजीे कपडाको खुद्रा पसल चलाउनुहुन्थ्यो । खरिददारीको व्रmममा उहाँ मुजफफरपुर गइराख्नु हुन्थ्यो । बेलाबखत उहाँ पालो मिलाएर हामीलाई पनि लैजानुहुन्थ्यो । उतिबेला बम्बई पुग्नुलाई ठूलो कुरा मानिन्थ्यो । पिताजी भन्नुहुन्थ्यो, त्यो जमानामा मुजफफरपुरको सुतापट्टी एसियाकै सबैभन्दा ठूलो कपडा मण्डीमा गनिन्थ्यो । सो मण्डीमा बिहार र नेपालका ब्यापारी त पुग्थे नै । आसाम–बंगालतिरका व्यापारी पनि आइपुग्थे ।
यात्राका निम्ति पिताजीलाई पायक पर्ने दिन शुक्रबार र शनिबार । उहाँ कहिले बिहान त कहिले दिउँसो घरबाट हिड्नुहुन्थ्यो । उतिबेला रक्सौलसम्म रिक्सामा जानुपर्ने । त्यहाँबाट बस चढेर मुजफफरपुरको यात्रा हुन्थ्यो । त्यहाँसम्म चल्ने बस उतिबेलाका बाहुबली भनिएका पाण्डेजीकै हुन्थे । कुनै बस नयाँ चिटिक्क परेको, कुनै बस असाध्यै पुरानो, चाउरी परेजस्तो, गुड्दा दमको रोग लागेकोजस्तो ख्याँख्याँ गरिराख्ने । अहिलेजस्तो गाडीको बाक्लै चाँप हुँदैनथ्यो । रक्सौल पुग्दा जुन बस भेट्यो, त्यसैमा चढ्यो । पिताजीलाई बेलैमा पुग्नुसित वास्ता हुन्थ्यो, बसको सौन्दर्य अथवा उमेरसित मतलब थिएन । तर हामी केटाकेटीलाई नयाँ, टिलिक्क टल्किने बसमा चढ्न पाए, नयाँ सिटमा बस्न पाए क्या रमाइलो हुँदो हो भन्ने रहर लाग्ने । नयाँ बस चढ्ने इच्छा पिताजीसँग जाहेर गरे पनि निर्णय उहाँको हुन्थ्यो ।
आफूले चिताएको कपडा बेच्न पाएको बेला मलाई चिठ्ठा परेजस्तो हुन्थ्यो । उफ्रिँदै पिताजीनजिक पुगेर भन्थे, ‘हेर्नु भो ? मैले बेचेर देखाएँ । तपैंले त बिक्दैन भनेर भन्नु भाको थियो ।’ अनि पिताजी मुसुक्क हाँस्नुहुन्थ्यो
उतिबेला घरबाट निस्किनु मेरा लागि कारावासबाट मुक्ति पाएजस्तो हुन्थ्यो । आमाको दराजमा लुकाएर राखिएका नयाँ र चिटिक्क परेका लुगाले पनि त्यहीबेला बाहिर निस्कने मौका पाउँथे । पिताजी र म रिक्सामा जाँदै थियौं, बाले अर्को रिक्सामा गइरहेको साथीलाई देख्नु भो । इसारामा उहाँहरूले एक–अर्कालाई सोध्नु भयो, ‘कता जान आँटेको ?’ पिताजी भन्दा हतारिएर मख्ख परी म चिच्याउँथे, ‘मुजफफरपुर ’ । बाटोभरि हरेक दृश्य मलाई लोमहर्षक एवं कौतुहलपूर्ण लाग्थे । पारि पुगेर बस चढ्यौं । सिटमा बस्न के थालेका थियौं, थरीथरीका खानेकुरा बेच्नेहरू हातमा सानो ढकियामा केही खानेकुरा राखेर कराउँदै आइपुगे । ‘आए ! चना जोर गरम’, ‘बाह्र मसला तेह्र स्वादका चकलेट’, ‘टाइमपास चिनियाँ बदाम’, ‘आए ! नारियल ताजाताजा नारियल’ । ती खानेकुरा देखेपछि मेरो जिब्रोमा रसाइसकेको हुन्थ्यो । केही न केही किनिदिन म पिताजीलाई कर गर्थें ।
आयो चाय…चाय…
बस आफ्नै गतिमा दौडिरहेको थियो । बसको झ्यालबाट तीव्र गतिमा छुट्दै गएको दृश्यमा म निमग्न भएँ । हामी गन्तव्यमा पुग्यौं, पिताजीको औंला समात्दै सुत्तापट्टिको मण्डीमा पुगियो । ओहो ! कति ठूलो बजार ! जताततै मानिसको भीड, झिलिमिली लुगाले भरिएका पसल । मलाई ठूलै ठाउँ पुगेजस्तो खुसी लाग्यो । बिहानको चराहरूको चिरबिरसँगै ग्राहक ओइरिन थाल्ने रहेछन् । कोही पगडी गुँथेका, कोही धोतीकुर्तामा, कोही सर्टपाइन्टमा, कतिपय मान्छे त पाइजामा र लुङ्गीमा पनि । जता आँखा गयो, मान्छेको लस्कर । स्थानीय थोक व्यापारी पनि के कम, बिहानै पसललाई चिटिक्क पारेर बसेका । पिताजीले एउटा ठूलो मण्डीमा लैजानु भयो । हामी पसलमा छिर्दाछिर्दै झण्डै मेरै जस्तो उमेरका फुच्चेहरु चाय… चाय…भन्दै सुरिलो स्वरमा कराउँदै पसलैपिच्छे चक्कर लगाउँदा रहेछन् । चियानास्ता पसलेहरूको फुर्तीफार्ती पनि गज्जबकै । उनीहरूको पसललाई गुम्टी भनौं ठेलागाडी, सबै ग्राहकबाट घेरिएकै हुन्थे ।
मेरो प्रसन्नताको कुनै सीमा रहेन । त्यो दिनदेखि जाकडी कपडा प्रिमियम श्रेणीमा चढ्यो । हाम्रो यो अभियान केही दिनसम्म गोप्य नै रह्यो । जब पिताजीले थाहा पाउनु भो, उहाँ चकित पर्नुभयो । उहाँ पनि हाम्रो नवीनतम् प्रयोगमा सामेल हुनुभयो ।
बाटोघाटोमा कुल्ली–कामदार, चार चक्केगाडी र ठेलागाडाको दौडाहा पनि उतिकै । सबै हतारोमा । पैदल पनि यसो कुद्दै हिँड्थे मानौं, गन्तव्य पुग्न नछुटोस् । ती दौडाहाको झुण्डमा हामी पनि सामेल हुन्थ्यौं । गोडा फुर्तीका साथ अगाडि सारिएन भने पछाडिकासित ठोक्किने । पिताजी दिनभरि खरिददारीमै व्यस्त, म उहाँलाई पछ्याइरहेको हुन्थेँ । साँझ कुनै परिचित अथवा नातेदारको घरमा शरणागत हुन्थ्यौं । उतिबेला सिनेमा हेर्न पाउनु ठूलो कुरा, राति खाना खाएर ९ बजेदेखि १२ बजेको सिनेमा हेर्न जान्थ्यौं । कहिले बास बसेको घरमा नातेदारसहित कहिले हामी, बावुछोरा मात्र । हेरेर फर्केपछि सोच्थेन्, कहिले घर पुग्ने र दाइदिदीलाई अभिनय गर्दै सिनेमाको कथा हाल्ने । उनीहरू डाहाले चिढिएको हेर्न खुब मज्जा हुन्थ्यो ।
पिताजीलाई चुनौती
पहिलोपटक जाँदा निकै सानो भएकाले धेरै कुरा बुझ्दैनथेँ । तर, हुर्किंदै गएपछि भने मलाई उहाँको व्यापारिक कलाप्रति ध्यान जान थाल्यो । पिताजीको कपडाको गुणस्तर थाहा पाउने काइदा मलाई अनौठो लाग्थ्यो । उहाँ कपडालाई दाहिने हातका दुई औंलाले सुम्सुम्याउनुहु्न्थ्यो । मानांै, औंला र कपडा आपसमा छलफल गरिरहेछन् । एकछिनपछि कपडाको गुणस्तरबारे उहाँ सटिक प्रतिव्रिmया सुनेर साहुजीहरू पनि दंग पर्थे । मैले पनि पिताजीको सिको गर्न खोजेँ । अहँ ! कपडाको गुणस्तर छाम्ने अड्कल मेरा औंलाले लाउन सकेनन् ।




उहाँको मोलमोलाई र अर्डर टिपाउने काइदा त मेरो स्मृतिपटलमा अझै पनि सुरक्षित छ । उहाँ आफुले नरूचाएको कपडाप्रति उत्सुकतापूर्वक भाउ सोध्नुहुन्थ्यो । चित्त बुझेको कपडाको भाउ सोध्दा भने नाक खुम्च्याउनुहुन्थ्यो, मानौं समान्य ज्ञानको लागि मात्र हो ।
अनि बल्ल सुरू हुन्थ्यो, मोलमोलाइको चरण । साहुजीले आप्mनो निर्णायक भाउ सुनाइसकेपछि उहाँ पनि अर्को दाउ लाउनुहुन्थ्यो– ‘साहुजी अर्डर दोब्बर गरिदिन्छु, भाउचाँहि अझै मिलाइ दिनुपर्ला ।’ भाउ मिलेपछि बल्ल कपडाको डिजाइन र रङ छान्नुहुन्थ्यो । त्यतिबेला भने उहाँ मलाई पनि सामेल गर्नुहुृन्थ्यो । बुबाको सहयोगी हुन पाउँदा फुरुंग पर्थें । म यताउती कुदीकुदी डिजाइन छनौट गर्थे । मैले छनौट गरेका रंग र डिजाइनमध्ये कुनै बेठीक लागे पनि मेरो मन राख्न उहाँ थोरै भए पनि खरिद गर्नुहुन्थ्यो । फिस्स हाँस्दै मेरो कानमा खुसुक्क भन्नुहुन्थ्यो, ‘तिम्ले छानेको डिजाइन हाम्रोतिर धेरै रुचाइन्न । बिकेन भने तिमी जिम्मा ।’
उहाँले हाँसेर दिएको प्रतिक्रियाले पनि मलाई मनमनै नरमाइलो लाग्थ्यो । पिताजीको आकलनलाई झुठो प्रमाणित गर्छु भनेर मनमनै प्रण गर्थें । अर्डर छोडेर हामी वीरगञ्ज फर्कंन्थ्यौं । माल आइपुग्न भने केही दिन लाग्थ्यो । आपूmले छनौट गरेका कपडा कुन बेला पसलमा आइपुग्ने हुन् भनेर म ब्यग्रतापूर्वक प्रतीक्षा गरिरहन्थेँ । स्कुलबाट फर्किंने बित्तिक्कै पसल पुगेर पिताजीलाई सोध्थेँ ‘अस्ति हामीले किनेका कपडा अझै आइपुगेनन् ?’
खैर, ढिलोचाँडो अर्डरबमोजिमका कपडा हाम्रो पसलमा आइपुग्थे । आफ्नै पसलमा मेरो ‘प्रेजेन्टेसन एण्ड मार्केटिङ’ शुरु हुन्थ्यो । आफूले छानेका डिजाइन र रङका कपडा कर्मचारीसित झगडा, बहस अथवा अनुरोध गरी ग्राहकको सजिलै आँखा पुग्ने ठाँउमा राख्न लगाउँथे । मेरो सनक त्यतिकैमा सकिँदैनथ्यो । स्कुलबाट फर्किंनेबित्तिक्कै सोझै पसल पुग्ने, आफ्नो रोजाइका कपडा बेच्न बढी जोरजुलुम गर्ने, पिताजीको चुनौती मनमा जो थियो ।
गातामा लेखिएका कोड भाषा
दाइ अशोक मभन्दा चार वर्ष जेठा थिए । उनलाई त स्कुलबाट फर्केपछि सोझै पसल पुग्ने पिताजीको उर्दी नै थियो । कपडा नाप्ने, काट्ने र गाता (काठको पातलो फल्याक) मा पट्याउने काममा उनी गजबको पोख्त थिए । सग्लो कपडाको थानबाट ग्राहकको मागअनुसारको मापनमा कपडा चिर्नु पर्दा मलाई सुरुसुरुमा हम्मै पथ्र्यो । कैंची नचलाए सुखै थिएन । तर उनी त दुई औंलाकै भरमा ठयाक्क नापअनुसार चिरिदिन्थे । विस्तारै त्यो जुक्ति मैले पनि सिकेँ । ग्राहकलाई भाउ बताउनु पर्दा मलाई खासै मिहिनत गर्नु पर्दैनथ्यो । जुन गातामा कपडा पट्याइएको हुन्थ्यो, त्यही गाताको भित्री भागमा कोड भाषामा कपडाको न्यूनतम भाउ पनि लेखिएको हुन्थ्यो । १ को ठाँउमा ए, २ को ठाँउमा बी..९ को ठाँउमा आई र शून्यको ठाँउमा जे लेखिएको भाउमा थोरबहुत थपेर ग्राहकलाई बताउँथे । एकछिन मोलमोलाइ हुन्थ्यो । न्यूनतम भाउमा गएर कुरो टुंगिन्थ्यो ।
ग्राहक रिझाउने काइदा
पिताजी ग्राहकलाई रिझाउने मामिलामा खासै समय खर्चिनु हुँदैनथ्यो । दाइ भने फरकफरक दाउपेच प्रयोग गर्थे । ‘बाबा, काका, माई, दिदी, भैया’ यस्ता सम्बोधन पाएर ग्राहक वर्षौ पुरानो परिचय भएझै मख्ख पर्थे । मौका मिल्यो कि ग्राहकको मन जित्न उनको प्रशंसामा दुईचार शब्द खर्चिन्थे । पसलमा आउनेबित्तिकै ग्राहकलाई सर्वप्रथम पानी खुवाउँथे । ग्राहकले जुन कपडामाथि हात राख्यो, भनिहाल्थे – ‘आहा ! तपाईंको छनौट त गजबको रैछ ।’ कुनै ग्राहक अलिक धेरै खरिददारी गर्ने खालको लाग्यो भने चिया चमेनाको व्यवस्था पनि गरिहाल्थे । म पनि दाइको सिको गर्दै ग्राहकलाई कपडा हेराउने र फकाउने काम सिक्न थालेँ ।
आफूले चिताएको कपडा बेच्न पाएको बेला त मलाई त चिठ्ठा परेजस्तो हुन्थ्यो । उफ्रिँदै पिताजीनजिक पुगेर भन्थे, ‘हेर्नु भो ? मैले बेचेर देखाएँ । तपंैले त बिक्दैन भनेर भन्नु भाको थियो ।’ अनि पिताजी मुसुक्क हाँस्नुहुन्थ्यो, जवाफमा भने फर्काउनु हुँदैनथ्यो । विस्तारै मलाई चेत हुँदै गयो, ‘पिताजी जानाजानी हामी भुराहरूको बालसुलभ अभिमानलाई चुनौती दिनुहुने रहेछ ।’ आफ्नो कारोबारमा छोराहरूलाई निपूर्ण बनाउन उहाँ यस्ता मनोवैज्ञानिक विधि अपनाउनु हुँदोरहेछ । पिताजीकै सल्लाहमा मेरा दाइले त १४ वर्षकै उमेरमा नयाँ पसल थापिसकेका थिए । रेडिमेट गार्मेण्ट तथा विदेशी परचुनका माल उपलब्ध थिए । उनको संघर्षको कथा पनि कम्ती रोचक छैन, कुनै बेला उनको विषयमा पनि चर्चा गरौंला ।
आफ्ना छनोटका कपडा धेरै बिक्री भएको दिन प्रफुल्लित, घटेको दिन मेरो अनुहार मलिन हुन्थ्यो । उतिबेला मलाई ग्राहकको एउटो कुरो अनौठो लाग्थ्यो । ‘छ्या कस्तो खत्तम कपडा !’ एउटा ग्राहकले तिरस्कार गरेको कपडा एक छिनपछि आउने अर्को ग्राहकले ‘वाह ! क्या राम्रो !’ भन्थे । म स्वयं पनि कम्ता पूर्वाग्रही थिइनँ । मलाई असाध्यै वाहियात लाग्ने कपडा कसैले मन परायो कि मनमनै झोक चल्थ्यो– ‘कस्तो झुर ग्राहक होला, कपडा छान्न पनि आउँदैन । रङ्ग कस्तो उदास ! अनि बुट्टा झनै घटिया !’ मैले असाध्यै मन पराएको कपडालाई कुनै ग्राहकले अस्वीकार गर्दा पनि झोक चल्थ्यो– ‘मोराको आँखामा फुलो पर्याजस्तो छ ।’
विस्तारै मलाई अनुभव हुँदै गयो, अन्तिममा बचेको सानो परिमाण कपडा बेच्न गाह्रो हुने रहेछ । त्यस्ता कपडालाई छाँट कपडा भनिन्थ्यो । त्यस्ता छाँट कपडालाई पोको पारेर अन्यत्र सारिन्थ्यो । आकलचुकल कुनैकुनै ग्राहकले त्यस्तो कपडा किन्थे । त्यो पनि तोकिएको मूल्यभन्दा आधा दाममा । पसलमा त्यस्ता छाँट कपडाको पोको दिनानुदिन मोटाउँदै गएको थियो ।
हकिकको बुद्धि र छाँटको सिरानी
हाम्रो पसलको बाहिरी भागमा बस्दै आएको दर्जीले एक दिन बाटो सुझाए, ‘बाबु ! एक बात कही ? अपने दोकान में जेतना छाँट कपडा बा, ओकार तकिया के खोल बनवा के बेचल जावे तो कइसनी रही ? हमरो दु पइसा कमिनी हो जाइत ।’ हकिक नाम थियो उनको । ग्राहकको सुबिधालाई ध्यानमा राख्दै प्रायः कपडा पसलमा एक दर्जी राख्ने चलन उतिबेला पनि थियो । उनी डसना, सिरक र सिरानी आदिको खोल त मज्जाले सिलाइदिन्थे । बिहेबारीको समय हुँदा उनलाई एक मिनटको फुर्सद हुँदैनथ्यो । अन्य बेला उनी अद्र्धबेरोजार हुन्थे । उनको प्रस्ताव मलाई दामी लाग्यो । दाइसित सल्लाह गर्दा उनी पनि सहमत भए । पिताजीलाई फकाएर केही छाँट कपडाबाट सिरानीको खोल बनाउन लगायौं । ग्राहकलाई हेराउँदा ग्राहकले पनि मन पराए । हामीले छाँट कपडालाई गतिलो दाममा बेच्न भ्यायौं र दर्जीले पनि काम पायो । त्यसपछि छाँट कपडाको पोकोले मोटाउने अवसर कहिल्यै पाएन ।
समय बित्दो थियो, म व्यापारको तकनिकि सिक्दै थिएँ । व्यापार सँधै उस्तै हुँदैनथ्यो । र्याकको एक कुनामा थन्किएको कपडाको एकाएक माग बढ्थ्यो । कहिले हिजोसम्म तिब्र गतिमा बिक्दै गरेको कपडा थन्को लाग्थ्यो । भ्mयाप्प बिक्री रोकिएका कपडालाई ग्राहक सामु बढी प्राथमिकतासाथ पेश गर्न पिताजीबाट कर्मचारीलाई निर्देशन नै हुन्थ्यो । तर खै ! ग्राहकको मनोविज्ञान के हो कुन्नी, त्यस्ता कपडा हेर्ने बित्तिकै बेवास्ता गरिदिन्थे ।
जाकडी कपडाका दुःख
बिस्तारै ती कपडा मैला देखिन थाल्थे– जुवाको खालमा पराजित जुवाडेजस्तो । ग्राहक त्यस्ता कपडालाई टर्रो प्रतिक्रिया दिन्थे, ‘छ्या ! कस्तो जाकडी कपडा हेराउनु भाको, अलि गतिला र ताजा कपडा हेराउनोस् ।’ कर्मचारी ग्राहकलाई मनाउने कोशिस गर्थे– ‘हैन यो ताजा कपडा नै हो, अन्य ग्राहकले पनि हेरेर यस्तो देखिएको हुनसक्छ । हजुरलाई त्यस्तै लाग्छ भने मैलो भागलाई हटाएर कपडा किन्न सक्नुहुन्छ ।’ ग्राहक गले पो । अनि त्यस्ता कपडाको न्वारन जाकडी कपडा भनेर गरिन्थ्यो । त्यस्ता कपडालाई परित्यक्तको कित्तामा स्थानान्तरण गरिन्थ्यो । त्यसरी जाकडीको श्रेणीमा पुग्नेमध्ये कहिलेकाँही मैले औधी मन पराएका कपडा पनि पर्थे । अनि मेरो मन कमिलाले चिलें झै पोल्थ्यो ।
पसलमा आकलचुकल दानदातब्य अथवा उपहार प्रयोजनका कपडा खोज्ने ग्राहक पनि आउँथे । त्यस्ता ग्राहक ‘अझै सस्तो दिनोस् न ।’ कोहीकोही त साह्रै कचकच गर्थे । त्यस्ता ग्राहकलाई त्यही जाकडी कपडा हेराइन्थ्यो । केही बेरको मोलमोलाईपश्चात् त्यस्ता कपडा बिक्री पनि हुन्थे, तर खरिद मूल्यभन्दा पनि सस्तो दरमा । मेरो चित्त बुझ्दैनथ्यो । पिताजीसमक्ष आप्mनो दुखेसो पोख्थे । पिताजी पनि कपाल सुम्सुम्याउँदै उदास स्वरमा एउटै कुरो दोहोर्याउनुहुन्थ्यो, ‘क्यार्नु, मान्छेको आचरण त्यस्तै हुँदो रैछ । बाहिरी सौन्दर्यलाई मात्र भाउ दिँदा हुन् । भित्र के छ भनेर टाउको दुखाउँदैनन् ।’ त्यतिबेला उनको दार्शनिक जवाफ मेरो मगजपुरसम्म नपुगे पनि गतिलो कपडाको यस्तो हबिगत देख्दा मजस्तै पिताजीको असन्तुष्टि पनि बुझ्थें ।
व्यापारसँगै किताबको सोख
व्यापारीको छोरो व्यापारको कला सिक्दै थिएँ । तर, कपडाका सुगन्धसँगै मेरो रुची किताबसँग पनि बढ्दो थियो । ग्राहक नआएको मौकामा म किताब पढिरहेको हुन्थें । समयव्रmमसँगै मलाई एससी बेदी, ओमप्रकाश शर्मा र सुरेन्द्र मोहन पाठकजस्ता भारतीय लेखकको उपन्यास पढ्ने चस्का लाग्दै गएको थियो । एकदिन पसलमै बसेर कुनै उपन्यास पढ्दै थिएँ । पात्रबीचको संवादले मलाई खुब छोयो– ‘सिपीभित्र लुकेका मोतीको सौन्दर्य कसैलाई कसरी थाहा हुनु ? कुनै गतिलो घाँटीमा झुण्ड्याउन पाए पो चर्चायोग्य हुने हो ।’ मैले किताबभित्रको त्यो संवादबारे दाइसित चर्चा गरें । केहीबेर गम्दै उनले समर्थन जनाए, ‘हुन त हो । पसलमा बिक्री गर्न ल्याइएको कुनै पनि सामान थोत्रो हुँदैन, बेच्ने काइदा नजानेर पो दुःख पाइँदो हो ।’ मलाई कौतुहल भयो, ‘कस्तो बेच्ने काइदा ? तपाई नै कुनै खास जुक्ति सोच्नोस् न ।’ उनले कुरो टुङ्ग्याए, ‘ठीक छ, कपडाको प्याकिङ्गमा कुनै साइन्स लगाउनु पर्ला । तर पिताजी नभएका बेला ।’
पिताजीको औंला समात्दै सुत्तापट्टि मण्डीमा पुगियो । ओहो ! कति ठूलो बजार ! जताततै मानिसको भीड, झिलिमिली लुगाले भरिएका पसल । मलाई ठूलै ठाउँ पुगेजस्तो खुसी लाग्यो
अर्को दिन, पिताजी पसलमा नभएका बेला म र दाइ, विशेष अभियानमा लाग्यौं । उनले जाकडीको श्रेणीमा थन्किएका कपडामध्ये एक थान कपडा झिक्न लगाए । उनले सो कपडाकोे अन्तिम भाग सुरुमा र सुरूको भाग अन्तिममा पर्ने गरी आर्को गातामा पुनः पट्याउन लगाए । त्यसो गरिँदा मैलो र उदास देखिने कपडाको अंश भित्रपट्टी र सफासुग्घर अथवा चिटिक्क देखिने अंश बाहिरपट्टी पर्यो । सोपछि त्यो कपडाको थानलाई नयाँ प्लाष्टिकमा प्याकिङ गर्न लगाए । हो रैछ, अब कपडा नवविवाहित बेहुलाजस्तै देखियोे । लगतै उनले जाकडी कपडामध्ये थप केही कपडालाई त्यसरी नै प्याकिङ गर्न लगाए ।
जिर्णोद्धार कपडाले पाएको प्रिमियम मोल
पिताजी पसलमा फर्किने समय भइसकेको थियो । ‘अबदेखि ताजाताजा आएका कपडा चाहियो भनेर इच्छा जाहेर गर्ने सौखिन ग्राहकलाई यी कपडा हेराउनु । र, प्रिमियम क्वालिटी भनेर पाँच प्रतिशत अतिरिक्त भाउ पनि राख्नु । केही दिन प्रयास गरेर हेरौं ।’ दाइले कर्मचारीलाई हतारहतार आदेश दिए । संयोगबस उनी उम्किने बित्तिक्कै एउटा ग्राहक टुप्लुक्क आइपुगे । साहुजी, सिरकको खोल बनाउनु छ, ताजाताजा आएका र एकदम फरक डिजाइनका कपडा हेराउनोस् त ।’ दाइले त्यही भर्खर जिर्णोद्धार गरिएका कपडा हेराए, पाँच प्रतिशत प्रिमियम दरमा । साथमा अन्य कपडामा पनि । ग्राहकका आँखा जिर्णोद्धार गरिएका कपडाबाट हटेनन् । अन्तमा उनले त्यही कपडा खरिद गरे, सामान्यभन्दा एकदुई पैसा बढि नै तिरेर ।
मेरो प्रसन्नताको कुनै सीमा रहेन । त्यो दिनदेखि जाकडी भनिएका कपडालाई प्रिमियम कपडाको श्रेणीमा चढ्यो । हाम्रो यो अभियान केही दिनसम्म गोप्य नै रह्यो । जब पिताजीले थाहा पाउनु भो, उहाँ चकित पर्नु भयो । उहाँ पनि हाम्रो नविनतम् प्रयोगमा सामेल हुनु भयो । बिस्तारै हामी सिरक, डसना र सिरानीको खोल मात्र होइन, त्यसमा लाग्ने कपास पनि बेच्न थाल्यौं । कसैलाई तैयारी सिरक, डसना अथवा सिरानी चाहिएको छ भने धुनियाँ बोलाएर त्यो सेवा पनि शुरु गर्यौं । नयाँ तकनिकी र सेवाका कारण हाम्रो पसलको प्रतिष्ठा दिनानुदिन चुलियो । क्रमशः हाम्रो पसलको नक्कल छेउछाउका पसलेले पनि गर्न थाले ।
समयकालसँगै म आज ५६ बर्षे भएको छु । जीवनमा थुप्रै आरोह–अवरोह आए । आज पनि त्यो बेला पढेको किताबको त्यही एउटा संवादको सार सम्झिन्छु– ‘सिपीभित्र लुकेको मोतीको सौन्दर्यको मूल्य कसैको घाँटीमा झुण्ड्याएपछि मात्रै हुने रहेछ ।’
(वीरगञ्जका व्यापारी बुवा बीएल लाठबाट सिकेको व्यापार कौशलबारे गणेशप्रसाद लाठको अनुभूति । उनका अनुराधा भवन, छमिया, अघटित र क्षमादान पुस्तक प्रकाशित छन्)
प्रकाशित मिति: शनिबार, माघ १, २०७८, १०:२५:००
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया