नेम्बाङबाट दलका नेताले सिक्नुपर्ने पाठ
काठमाडौं । तत्कालीन संविधान मस्यौदा समितिमा सदस्य रहँदा माओवादी केन्द्रका नेता रामनारायण बिडारी संविधानसभा अध्यक्ष सुवास नेम्बाङकै छत्रछायामा रहे ।
उमेर र अनुभवमा उनीहरूभन्दा वरिष्ठ नेम्बाङ आफूभन्दा कनिष्ठसँग सधैं छलफल गर्थे, संवादमै रहन्थे र उनीहरूका कुरा ध्यानपूर्वक सुन्थे । आफूभन्दा कनिष्ठको कुरा बिरलै सुनिने नेपाली समाजमा नेम्बाङको शैली देख्दा त्यतिबेलै उनीबाट प्रभावित भइसकेका थिए बिडारी । त्यसाे त बिडारीले ०३५ सालमै नेपाल ल क्याम्पसमा नेम्वाङसँग कानूनकाे कक्षा लिइसकेका थिए । त्यसयता बहस, पैरवी र राजनीतिक मञ्चमा उनीहरूकाे सहकार्य र भेटघाट चलिरहन्थ्याे ।
बिडारीको बुझाइमा नेम्बाङ सरल थिए । आएका फोन जुनसुकै बेला उठाउँथे । नभ्याए “कल ब्याक” गर्थे । अन्य सभामुख र राजनीतिक नेतृवको तुलनामा बिडारीको नजरमा नेम्बाङ यसकारण पनि फरक छन् । रात, विहान या मध्याह्न जुनसुकै बेलामा फोन उठाउने र नसकेको अवस्थामा पछि ‘कल ब्याक’ गर्ने उनको जस्तो बानी अन्य नेता तथा सभामुखमा बिरलै हुने बिडारी बताउँछन् ।
‘यो कुरा सुन्दा अहिले जति पनि सभामुख बने, उनीहरूलाई लाज लाग्नुपर्ने हो । राति, बिहान, बेलुकी वा दिउँसो जतिसुकै बेलामा उहाँको फोन उठ्छ,’ नेपालवाचसँगको कुराकानीमा उनले भने, ‘केहीगरी भएन भने पनि कलब्याक आउँछ । यो कुरा अरू सभामुखले पनि उहाँबाट सिक्नुपर्ने हो ।’
बिडारीका भनाइमा नेम्बाङको सहनशीलता, सहमतीय दृष्टिकोण, कम्युनिस्टहरूकाे सहकार्यको विषय, रुल अफ लको विषयलाई अन्य दल तथा राजनीतिज्ञले ग्रहण गर्नुपर्छ । ‘नेपालको फोहोरी राजनीतिलाई सफा गर्ने विषयमा उहाँले खेल्नुभएको भूमिका, गर्नुभएको प्रयास र हामी कनिष्ठसँगको नियमित छलफल, सम्पर्क सिक्नैपर्ने कुरा हुन्,’ उनले अगाडि थपे ।
बिडारीकाे नजरमा नेपालमा अहिलेसम्म सभामुख भएमध्येकै उत्कृष्ट र योग्य पात्र थिए नेम्बाङ । विभिन्न समयमा आफ्नो विचार बाझिए पनि र उनलाई लागेका आरोपबाट बाहिर निस्किएर हेर्दा सभामुख पदका लागि उनी साँच्चै योग्य भएको उनको भनाइ छ ।
बिडारीका अनुसार, पछिल्लो समय भने उनी कम्युनिस्ट आन्दोलनलाई लिएर चिन्तित देखिन्थे । संसद विघटनसँगै दुई ढिक्का भएका कम्युनिस्ट फेरि एक हुनुपर्ने भनेर उनले धेरैसँग संवाद अघि बढाइरहेका थिए ।
बिडारी पनि आफूलाई पटक–पटक बोलाएर कम्युनिस्ट एकताबारे संवाद गरिरहेको स्मरण गर्छन् । ‘पटक–पटक बोलाएर नेपालका कम्युनिस्टहरू एक हुनुपर्छ यसमा भूमिका खेलौं भनेर मलाई भन्नुहुन्थ्यो,’ उनले भने ।
बिडारीलाई नेम्बाङ सभामुखको रूपमा मात्रै नभएर कूटनीतिमा पनि अब्बल लाग्छ । बिडारीका अनुसार आफूले गर्न खोजेको काम कूटनीतिक ढंगबाट सम्पन्न गर्ने सीप नेम्बाङमा थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुईपटक प्रतिनिधिसभा विघटन गर्दा पनि उनले दलभन्दा माथि रहेर अडान लिएको बिडारी स्मरण गर्छन् । ‘प्रतिनिधिसभा विघटन हुँदा पनि उहाँसँग मेरो कुरा भएको हो । त्यतिबेला संसद् विघटन गर्नु हुँदैन भन्ने नै पार्टीभित्र मेरो मत थियो भन्नुभएको हो,’ विगत सम्झिँदै उनले भने, ‘मैले भनेको नलाग्नु विडम्बना हो भन्नुभयो । संविधानको कार्यान्वयनमा उहाँ बढी चिन्तित हुनुहुन्थ्यो । सबै मिलेर संविधानको कार्यान्वयन गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो ।’
विपक्षीले पनि प्रिय मान्दै आएका उनै नेम्बाङको आज हृदयघातका कारण मृत्यु भएको छ । सरकारले दिवंगत नेता नेम्बाङको राजकीय सम्मानका साथ आगामी बिहीबार अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया