देव गुरुङको नजरमा दिवंगत नेता सुवास नेम्वाङ
शान्ति प्रक्रियामा आउनुपूर्व माओवादी केन्द्रका महासचिव देव गुरुङको मंगलबार दिवंगत एमाले उपाध्यक्ष सुवास नेम्वाङसँग खास सम्बन्ध थिएन । ०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएर ‘माननीय’ बनेपछि भने उनीहरूको सम्बन्ध झाँगियो । फरक दलबाट प्रतिनिधित्व गर्ने भए पनि नेम्वाङसँग आफ्नो कहिल्यै विमति नभएको गुरुङ स्मरण गर्छन् ।
संविधान निर्माण प्रक्रियादेखि विभिन्न राजनीतिक छलफल र संवादमा नजिक रहेर नेम्वाङसँग काम गरेका गुरुङले उनलाई यसरी सम्झिए :
व्यक्तित्वको हिसाबमा सुवास नेम्वाङ साह्रै मिलनसार र भद्र हुनुहुन्थ्यो । अत्यन्तै घनिष्ठ पनि । यस्तै व्यवहारले गर्दा होला, उहाँसँग काम गर्न निकै सजिलो भयो । कुनै मुद्दामा कहिल्यै समस्या भएन ।
लोकतन्त्रपछि अन्तरिम संसद् गठन भयो । म त्यसको सांसद बने । त्यसपछि नै उहाँसँग मेरो सम्बन्ध सुरु भएको हो । हुन त, संसद हुनुभन्दा अघि पनि कहिलेकाहीं देखभेट उहाँसँग मेरो देखभेट भयो होला । तर निकटता भने अन्तरिम सांसद भएदेखि नै झाँगिएको हो । त्यतिबेला उहाँ सभामुख भइसक्नुभएको थियो । अन्तरिम संसददेखि निरन्तर संविधान र कानूनका मुद्दाहरूमा उहाँसँग सल्लाह र परामर्श लिने काम भई नै रह्यो ।
अन्तरिम संसदमा उहाँ दलको प्रमुख सचेतक हुनुहुन्थ्यो । म र उहाँबीच धेरै विषयमा सल्लाह र परामर्श हुन्थ्यो । यसक्रममा हामीबीच कुनै कुरामा मतभेद भएन । किनभने, हरेक विषयमा हाम्रो धारणा समान हुन्थ्यो ।
हामीबीच कार्यशैलीगत विषयमा पनि धेरै समानता रहेको म पाउँछु । यद्यपि, पृष्ठभूमि र पार्टी फरक परेकाले केही पक्षहरूमा मतान्तर परेको हुनसक्छ । तर संविधान र कानून निर्माण एवं संसद् सञ्चालनको दृष्टिकोणमा हाम्रो धारणा कहिल्यै फरक भएन, एउटै रह्यो । पार्टीको आफ्नै अडानका कारण विषयवस्तुमा फरक मत राख्ने कुरा एउटा पाटो भयो । तर संविधान निर्माणको विधि, कानून निर्माणको विधि, प्रक्रिया, संसद् सञ्चालन गर्ने विधि–प्रक्रियाको सन्दर्भमा हाम्रो उल्लेखनीय रूपमा मतभेद भएन । धेरै कुरामा हाम्रो समान बुझाइ र सोचाइ हुन्थ्यो ।
संसदीय अभ्यासलाई विधिवत् रूपमा बसाल्ने मात्रै नभएर दलहरूको चर्काचर्की मिलाउने काममा पनि उहाँले उल्लेख्य भूमिका खेल्नुहुन्थ्यो । उहाँले लिएका निर्णय र अघि सारेका प्रस्तावमा हामी प्रायः सहमत हुन्थ्यौं ।
अहिले हाम्रो राष्ट्रियता संकटपूर्ण अवस्थामा छ । राष्ट्रिय सहमति र सहकार्यका आधारमा सबै दल अघि बढ्नुपर्ने खाँचो छ । विधान र प्रक्रियालाई पालना गर्ने विषयमा हामी एकजुट हुनुपर्छ । विधिको पालना नगरे कुनै पनि कुरा नटिक्ने भएकाले यसमा गम्भीर हुनुपर्छ ।
मुलुकमा प्रणाली बस्न नसक्नु र अस्थिरता पैदा हुनु भनेको राष्ट्रिय अस्मिता नै संकटपूर्ण अवस्थामा पर्नु हो । त्यसैले दलहरूबीच सहमति गरेर अघि बढ्नुपर्ने कुरालाई उहाँले विशेष जोड दिइरहनुहुन्थ्यो ।
लोकतन्त्रलाई स्थापित गर्ने क्रममा उहाँले निर्वाह गरेको समन्वयकारी भूमिका अहं महत्त्वको छ । त्यसैले उहाँको निधनले देशको लोकतान्त्रिक तथा गणतान्त्रिक अभियानमा अतुलनीय क्षति पुगेको छ । दलहरूमा एकले अर्कोलाई निषेध गर्ने, अस्वीकार गर्ने र अस्वस्थ्य प्रतिस्पर्धा देखिएको छ ।
राष्ट्र रहन्छ कि रहँदैन, लोकतन्त्र टिक्छ कि टिक्दैन, बचाउन सकिन्छ कि सकिँदैन भनेर चिन्ता पैदा भइरहेका बेला उहाँको अवसान हुन पुगेकाले सदैव अभाव महसुस भइरहनेछ । योसँगै नेपाली कम्युनिस्ट, वाम आन्दोलनमा, स्वाधीनतालगायतको प्रगतिशील आन्दोलनमा अतुलनीय क्षति पुगेको छ । यस्तो प्रतिकूल अवस्थामा उहाँको उपस्थिति खड्किरहनेछ ।
उहाँ जहिले पनि सहमति र सहकार्यको कुरा गर्नुहुन्थ्यो । समन्वयकारी भूमिका खेल्न उहाँले कहिल्यै कुनै कसर बाँकी राख्नुभएन । हामी सबैले उहाँबाट यो कुरा सिक्नुपर्छ । यसो गर्न सकेको खण्डमा मात्र उहाँप्रति सच्चा श्रदाञ्जली दिएको ठहरिनेछ ।
(प्रमुख सत्तारूढ दल माओवादी केन्द्रका महासचिव गुरुङसँगको कुराकानीमा आधारित)


प्रतिक्रिया