NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

देव गुरुङको नजरमा दिवंगत नेता सुवास नेम्वाङ

‘लोकतन्त्र खतरामा परेका बेला नेम्वाङलाई गुमायौं, अभाव खड्किरहनेछ'

शान्ति प्रक्रियामा आउनुपूर्व माओवादी केन्द्रका महासचिव देव गुरुङको मंगलबार दिवंगत एमाले उपाध्यक्ष सुवास नेम्वाङसँग खास सम्बन्ध थिएन । ०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएर ‘माननीय’ बनेपछि भने उनीहरूको सम्बन्ध झाँगियो । फरक दलबाट प्रतिनिधित्व गर्ने भए पनि नेम्वाङसँग आफ्नो कहिल्यै विमति नभएको गुरुङ स्मरण गर्छन् ।
संविधान निर्माण प्रक्रियादेखि विभिन्न राजनीतिक छलफल र संवादमा नजिक रहेर नेम्वाङसँग काम गरेका गुरुङले उनलाई यसरी सम्झिए :

व्यक्तित्वको हिसाबमा सुवास नेम्वाङ साह्रै मिलनसार र भद्र हुनुहुन्थ्यो । अत्यन्तै घनिष्ठ पनि । यस्तै व्यवहारले गर्दा होला, उहाँसँग काम गर्न निकै सजिलो भयो । कुनै मुद्दामा कहिल्यै समस्या भएन ।

लोकतन्त्रपछि अन्तरिम संसद् गठन भयो । म त्यसको सांसद बने । त्यसपछि नै उहाँसँग मेरो सम्बन्ध सुरु भएको हो । हुन त, संसद हुनुभन्दा अघि पनि कहिलेकाहीं देखभेट उहाँसँग मेरो देखभेट भयो होला । तर निकटता भने अन्तरिम सांसद भएदेखि नै झाँगिएको हो । त्यतिबेला उहाँ सभामुख भइसक्नुभएको थियो । अन्तरिम संसददेखि निरन्तर संविधान र कानूनका मुद्दाहरूमा उहाँसँग सल्लाह र परामर्श लिने काम भई नै रह्यो ।

अन्तरिम संसदमा उहाँ दलको प्रमुख सचेतक हुनुहुन्थ्यो । म र उहाँबीच धेरै विषयमा सल्लाह र परामर्श हुन्थ्यो । यसक्रममा हामीबीच कुनै कुरामा मतभेद भएन । किनभने, हरेक विषयमा हाम्रो धारणा समान हुन्थ्यो ।

हामीबीच कार्यशैलीगत विषयमा पनि धेरै समानता रहेको म पाउँछु । यद्यपि, पृष्ठभूमि र पार्टी फरक परेकाले केही पक्षहरूमा मतान्तर परेको हुनसक्छ । तर संविधान र कानून निर्माण एवं संसद् सञ्चालनको दृष्टिकोणमा हाम्रो धारणा कहिल्यै फरक भएन, एउटै रह्यो । पार्टीको आफ्नै अडानका कारण विषयवस्तुमा फरक मत राख्ने कुरा एउटा पाटो भयो । तर संविधान निर्माणको विधि, कानून निर्माणको विधि, प्रक्रिया, संसद् सञ्चालन गर्ने विधि–प्रक्रियाको सन्दर्भमा हाम्रो उल्लेखनीय रूपमा मतभेद भएन । धेरै कुरामा हाम्रो समान बुझाइ र सोचाइ हुन्थ्यो ।

संसदीय अभ्यासलाई विधिवत् रूपमा बसाल्ने मात्रै नभएर दलहरूको चर्काचर्की मिलाउने काममा पनि उहाँले उल्लेख्य भूमिका खेल्नुहुन्थ्यो । उहाँले लिएका निर्णय र अघि सारेका प्रस्तावमा हामी प्रायः सहमत हुन्थ्यौं ।

अहिले हाम्रो राष्ट्रियता संकटपूर्ण अवस्थामा छ । राष्ट्रिय सहमति र सहकार्यका आधारमा सबै दल अघि बढ्नुपर्ने खाँचो छ । विधान र प्रक्रियालाई पालना गर्ने विषयमा हामी एकजुट हुनुपर्छ । विधिको पालना नगरे कुनै पनि कुरा नटिक्ने भएकाले यसमा गम्भीर हुनुपर्छ ।
मुलुकमा प्रणाली बस्न नसक्नु र अस्थिरता पैदा हुनु भनेको राष्ट्रिय अस्मिता नै संकटपूर्ण अवस्थामा पर्नु हो । त्यसैले दलहरूबीच सहमति गरेर अघि बढ्नुपर्ने कुरालाई उहाँले विशेष जोड दिइरहनुहुन्थ्यो ।

लोकतन्त्रलाई स्थापित गर्ने क्रममा उहाँले निर्वाह गरेको समन्वयकारी भूमिका अहं महत्त्वको छ । त्यसैले उहाँको निधनले देशको लोकतान्त्रिक तथा गणतान्त्रिक अभियानमा अतुलनीय क्षति पुगेको छ । दलहरूमा एकले अर्कोलाई निषेध गर्ने, अस्वीकार गर्ने र अस्वस्थ्य प्रतिस्पर्धा देखिएको छ ।

राष्ट्र रहन्छ कि रहँदैन, लोकतन्त्र टिक्छ कि टिक्दैन, बचाउन सकिन्छ कि सकिँदैन भनेर चिन्ता पैदा भइरहेका बेला उहाँको अवसान हुन पुगेकाले सदैव अभाव महसुस भइरहनेछ । योसँगै नेपाली कम्युनिस्ट, वाम आन्दोलनमा, स्वाधीनतालगायतको प्रगतिशील आन्दोलनमा अतुलनीय क्षति पुगेको छ । यस्तो प्रतिकूल अवस्थामा उहाँको उपस्थिति खड्किरहनेछ ।

उहाँ जहिले पनि सहमति र सहकार्यको कुरा गर्नुहुन्थ्यो । समन्वयकारी भूमिका खेल्न उहाँले कहिल्यै कुनै कसर बाँकी राख्नुभएन । हामी सबैले उहाँबाट यो कुरा सिक्नुपर्छ । यसो गर्न सकेको खण्डमा मात्र उहाँप्रति सच्चा श्रदाञ्जली दिएको ठहरिनेछ ।

(प्रमुख सत्तारूढ दल माओवादी केन्द्रका महासचिव गुरुङसँगको कुराकानीमा आधारित)