‘जितिया’ पर्वमा थारु समुदायले माग्यो बिदा
भरतपुर । चितवनका थारु समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरिएका छन् ।
थारु कल्याणकारिणी सभा चितवनले १३ औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा (पितृऔँशी), फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरिएको हो ।
थारु समुदायका महिलाको मुख्य चाड जितिया हो । यस वर्ष यही असोज २० गते जितिया पर्व मनाइँदै छ । यसपटक जितिया शनिबार परेकाले स्वतः बिदा हुनेछ । तर अरु बेला यो चाड मनाउन स्थानीय सरकारले समेत बिदा दिने गरेका छैनन् । अझ विद्यालयमा सोही बेला परीक्षासमेत हुने गरेको छ । यसले गर्दा युवापुस्ताले आफ्नो चाडपर्व ढुक्कले मनाउन नपाएको थारु समुदायको गुनासो छ ।
यही अवस्थालाई मध्यनजर गर्दै थारु कल्याणकारिणी सभाले घोषणापत्र मार्फत नै बिदा दिन माग गरेको सभा चितवनका सभापति ललित चौधरीले जानकारी दिए । यस्तै सभाले घोषणपत्रमार्फत आगामी प्रदेशको निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि रैथाने थारुलाई मेयर, उपमेयर, वडाध्यक्षलगायत महत्वपूर्ण पदमा उम्मेदवार बनाउन चितवनका राजनीतिक दलसमक्ष मागसमेत गरेको छ ।
घोषणापत्रमा स्थानीय तहहरुमा थारु विकास कार्यक्रम लागू गरी थारु समुदायको आर्थिक, शैक्षिक, भाषिक, सांस्कृतिक, सामाजिक उत्थानका लागि सम्मानजनक बजेटको व्यवस्था मिलाउन, सङ्घीय र प्रदेशको कामकाजी भाषाअन्तर्गत बागमती प्रदेशको हकमा चितवनमा बोलिने थारु भाषाको उपस्थिति १ प्रतिशत भन्दा धेरै भएकाले प्रदेश र स्थानीय निकायमा कामकाजीको भाषाका लागि बहुभाषिक व्यवस्थाअनुरुप चितवनको थारु भाषा कामकाजको भाषाको रुपमा कायम गर्न आग्रह समेत गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया