पहिराेले मध्यपहाडी लोकमार्ग ठप्प
ढोरपाटन । निरन्तर वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
लोकमार्गको बागलुङको बुर्तिबाङ-पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका-१ पाखुतेमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
मङ्गलबार साँझदेखि अवरुद्ध भएको उक्त खण्ड अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।
भारी वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको उनले बताए । निरन्तर वर्षा भइरहेकाले वर्षा रोकिएपछि मात्रै सडक खुलाउन सकिने केसीको भनाइ थियो । लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमदेखि बागलुङ, पोखरा, काठमाडौँ लगायतका स्थानमा जाने यातायातका साधन ठप्प भएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।
उनका अनुसार काठमाडौँ, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारी पनि सडकमै रोकिएका छन् । प्रहरी नायब उपरीक्षक केसीले भने, ‘अहिले पनि भारी वर्षा भइरहेको छ । हिजोदेखि ठप्प भएको सडक अहिलेसम्म खुलाउन सकिएको छैन । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । वर्षा रोकिने बित्तिकै सडक खुलाउने प्रयास गर्नेछौँ । ठूलो पहिरो खसेकाले तत्कालै खुलाउन सकिने अवस्था छैन ।’
पहिराेले कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको केसीको भनाइ छ । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा लेदोसहितको पहिराले सडक पूर्ण रुपमा ठप्प भएको छ । करिडोर अवरुद्ध हुँदा बागलुङको दक्षिणी क्षेत्र यातायातबाट विच्छेद भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया