हालसम्मकै ठूलो आइपिओ ल्याउँदै विद्युत् प्राधिकरण
काठमाडौं । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्ने भएको छ । प्राधिकरण आफ्नो वित्तीय पुनर्संरचना गरेर चुक्ता पुँजी बढाउन प्रिमियम मूल्यमा ६० अर्ब बराबरको आइपिओ ल्याउने भएको हो ।
प्राधिकरणले आफ्नो चुक्ता पुँजी तीन खर्ब बनाउने योजना बनाएको छ । त्यसका लागि एक खर्ब ९५ अर्ब थप पुँजी आवश्यक छ । त्यसकै १० प्रतिशतको रकममा प्रिमियम मूल्य थप गरेर ६० अर्बको आइपिओ जारी गर्ने प्रस्ताव प्राधिकरणले अर्थ मन्त्रालयमा पेस गरेको छ । प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य करिब एक सय २५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी सेयर निष्कासनको प्रस्ताव गरिएको छ । त्यसअनुसार प्राधिकरणले २४ करोड कित्ता सेयर निष्कासन गर्ने देखिन्छ ।
रकम र कित्ताका आधारमा प्राधिकरणको आइपिओ नेपाली पुँजी बजारकै धेरै (ठूलो) हुन आउँछ । अपवादमा बाहेक निकट भविष्यमा यो बराबरको आइपिओ सम्भावना अत्यन्तै कम छ । यसअघि नेपाली पुँजी बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर निष्कासन गरेको थियो । सो रेकर्डलाई प्राधिकरणले तोड्ने देखिन्छ ।
उक्त प्रस्ताव अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्म पुग्नेछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि आइपिओ निष्कासनको थप प्रक्रिया अघि बढ्छ । प्राधिकरण आफ्नै ऐन (नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१) बमोजिम सञ्चालित छ । सोही ऐनबमोजिम प्राधिकरणले तेस्रोपटक वित्तीय पुनर्संरचना गरी संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको हो । सरकारबाट स्वीकृत पाउनासाथ सेयर निष्कासनको प्रक्रिया अघि बढाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
नयाँ पत्रिका दैनिकबाट
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया