NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ३ गते

विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। शीर्ष ६ मा रहँदै ओडीआई मान्यता जोगाउने लक्ष्यमा रहेको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण बनेको छ।

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ–१) मा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।

त्रिदेशीय शृङ्खलाको सुरुआती दुई खेलमा नेपालले क्यानडा र ओमानलाई पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको थियो। तर, शनिबार भएको तेस्रो खेलमा क्यानडासँग पराजित भएपछि नेपालको शीर्ष ६ मा रहने सम्भावनामा दबाब बढेको छ।

नेपाललाई हराएसँगै क्यानडा ३६ खेलबाट २९ अङ्क जोड्दै अङ्कतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। ३५ खेलबाट २८ अङ्क रहेको नेपाल भने सातौँ स्थानमा झरेको छ।

आज ओमानलाई पराजित गर्न सके नेपालले क्यानडालाई पछि पार्दै पुनः छैटौँ स्थानमा उक्लिनेछ। त्यसैले ओमानविरुद्धको खेल नेपालका लागि अङ्क जोड्ने अवसर मात्र नभई ओडीआई मान्यता जोगाउने अभियानमा निर्णायक महत्त्वको बनेको छ।

विश्वकप लिग–२ को अङ्कतालिकामा शीर्ष ६ स्थान हासिल गर्ने टोलीले ओडीआई मान्यता कायम राख्ने भएकाले नेपालका लागि आजको जित अत्यावश्यक देखिएको छ। घरेलु टोली ओमानलाई उसकै मैदानमा हराउँदै नेपाल प्रतियोगितामा आफ्नो स्थिति सुधार्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

ताजा अपडेट

नेपालवाच विशेष