पूजामा भेटिएकी ‘दिदी’ले यसरी इराक लगेर बिक्रि गरिन्

काठमाडौं । मानव तस्करीमा नयाँ शैली देखिएको छ । व्यक्तिगत श्रम स्वीकृतीमा महिलाहरूलाई संयुक्त अरब इमिरेट्स(यूएई) लैजाने र त्यहाँबाट इराकमा लगेर बिक्रि हुन थालेको छ ।
यूएई हुँदै इराक पु¥याउने मानवतस्करी गिरोहका सदस्य मिक्मा छिरी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनी लगायतका व्यक्तिले सिन्धुपाल्चोकका दुई महिलालाई गत असारमा इराक लगेर बिक्रि गरेका थिए । मानवतस्करी गिरोहले नै उनीहरुको यूएईको व्यक्तिगत श्रम स्वीकृती मिलाएर त्यहाँ पु¥याएका थिए । भिजिट भिसामा लैजान गाह्रो हुने भएपछि यसरी व्यक्तिगत श्रम स्वीकृती निकालेर यूएईसम्म लगेको हुनसक्ने मानव बेचबिखन अनुसन्धान ब्यूरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए । ‘मानवतस्करीमा यो नयाँ शैली देखियो’ उनले भने,‘गिरोहका एक सदस्यलाई पक्राउ गरेका छौं, अन्य तीन जना फरार छन् ।’ दुई पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
फिरौती बुझाएपछि रिहा
गत बैशाख महिनामा गाउँमै भएको एक कुलपुजामा पीडितहरुको इराकमा बस्ने दिदी नाता पर्ने महिलासँग चिनजान भएको थियो । ती महिलाले विदेश जाने हो भने आफुले काम गर्ने सहर कुर्तिस्तानमा लैजान सक्ने र खर्च नलाग्ने बताइन् । कमजोर आर्थिक भएका उनीहरुलाई विश्वासमा परे । चप्पल कारखानामा जागिर लगाइदिने र मासिक करिब ६० हजार आम्दानी हुने आश्वासन दिइएको थियो । ती महिलाको नम्बर लिएर उनीहरु पासपोर्ट बनाउनतर्फ लागे ।
महिलाले नेपालमा मिक्मा लगायतको नम्बर दिएकी थिइन् । उनै मिक्मालाई लगेर पासपोर्ट बुझाएका थिए । उनले यूएईको वर्किङ भिसा मिलाइदिए । एकको क्लिनिङ कम्पनी तथा अर्काे सुपरमार्केट कम्पनीको नाममा श्रम स्वीकृती पाएका थिए । कम्पनीले पठाएको व्यक्तिगत श्रम स्वीकृतीको कागजपत्रमाथि छानबिन भएको छैन । तर, त्यहीआधारमा श्रम कार्यालयले व्यक्तिगत श्रम स्वीकृति बनाइदिएको थियो ।
सोहीअनुसार गत ५ असारमा उनीहरू दुबई पुगे । त्यहाँ एक साता राखेपछि उनीहरुलाई भिजिट भिसामा इराकको सुलेमानीह क्षेत्रमा पु¥याइएको थियो । जहाँ गाउँकी चिनेकी दिदीले उनीहरुलाई लिन आइन् । ती महिलाले दुवैलाई एक घरमा लगेर राखिन् । केही दिनपछि उनीहरुलाई लिन केही व्यक्ति आए । गलत कामका लागि पठाउन लागिएको भन्दै त्यहाँ रहेका अन्य महिलाले उनीहरुलाई नजान भए ।
जसकारण उनीहरु गएनन् । बरु नेपाल फर्कादिन भने । त्यसपछि उनीहरुमाथि यातना सुरु भएको थियो । त्यहाँका एजेन्टले ९१ सय डलरमा किनेकाले त्यो पैसा दिएपछि मात्र नेपाल फिर्ता पठाइदिने बताए । उनीहरुले आफुहरुलाई उद्धार गरीदिन परिवार र सरकारसँग हारगुहार गरे । परिवारले पैसा पठाएपछि उनीहरुलाई त्यहाँ मुक्त गरिएको छ । प्रहरीले नेपाली दूतावास र गैरआवासिय नेपाली संघ, इरानको सहयोगमा उनीहरुको उद्धार गरेको थियो । २९ असारमा नेपाल आएपछि उनीहरुले आफुलाई त्यसरी झुक्याएर इराक पु¥याई बिक्रि गर्नेविरुद्ध उजुरी दिएका हुन् । यसरी अरु धेरै महिला इराक पुगेको सूचना प्रहरीले पाएको छ । गिराहको एजेन्टहरु यूएई तथा इराकमा समेत रहेको उनीहरुको खोजी भइरहेको ब्यूरोका एसएसपी श्रेष्ठ बताउँछन् ।
प्रतिक्रिया