महासचिव गुटेरेस लुम्बिनी जाँदै, प्रधानमन्त्रीसहितको टोलीले स्वागत गर्ने
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी जाँदै छन् ।
नेपालको औपचारिक भ्रमणमा रहेका उनी आज बिहान पर्यटकीय नगर पोखराबाट लुम्बिनी जान लागेका हुन्। महासचिव गुटेरेस अहिले बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमा बिहान लुम्बिनी पुग्ने कार्यक्रम रहेको छ ।
हेलिकोप्टरमा लुम्बिनी पुगेपछि महासचिवलाई चार नम्बर गेटबाट गाडीमा शान्ति दीपमा लगिने छ । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् ।
महासचिवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गर्ने कार्यक्रम छ । मन्त्री किराती र मुख्यमन्त्री चौधरी सोमबार नै लुम्बिनी पुगेका छन् । प्रधानमन्त्री दाहाल आज बिहान काठमाडौंबाट आउने कार्यक्रम छ ।
महासचिवले लुम्बिनीमा वृक्षरोपण गर्नेछन्। लुम्बिनीमा डेढ घण्टा बिताएपछि उनी आज नै काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए ।
महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार–प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
महासचिवको भ्रमणलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्मको आवश्यक सुरक्षा व्यवस्था चुस्त बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया