कुकुरले शिशुको शव ल्याएको विषयमा अनुसन्धान गर्न अनुरोध

वीरेन्द्रनगर । प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ ।
कुकुरले नवजात शिशुको शव च्यापेको फोटो आज बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले घटनामा आफ्नो लापरवाही नभएको प्रष्टीकरण दिएको हो । अस्पतालले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरिसकेको जनाएको छ ।
अस्पतालका प्रवक्ता डा विकास केसीले कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन सुरु गरेको जानकारी दिए ।
डा केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, सिसीटिभी फुटेज हेर्दा अस्पतालको उत्तरतर्फको झाडी भएको क्षेत्रबाट बिहान करिब ७ः३७ मिनेटमा कुकुरले मृत शिशु च्यापी अस्पतालमा प्रवेश गरेको देखिन्छ । नवजात शिशुको रेकर्ड हेर्दा विगत एक सातादेखि दुई जनाको मात्र मृत्यु भएको र ती शव आ-आफ्नो संस्कारअनुसार अन्त्येष्टि गर्न अभिभावकलाई जिम्मा लगाइएको विज्ञप्तिमा उल्लेख छ ।
आज बिहान अस्पताल भर्ना भएका एक बिरामीका कुरुवाले तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नासाथ अस्पतालको लापरवाही भन्दै टिकाटिप्पणी भएको थियो ।
कुकुरले टाउको नभएको शिशुको शव च्यापेर हिँडिरहेको देखेपछि अस्पतालका सुरक्षा गार्डले कुकुरबाट उक्त शव खोसेका थिए । प्रसूति वार्डबाटै कुकुरले शिशु लिएको अपवाह फैलाइएको भन्दै अस्पताल प्रशासनले आपत्ति जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया