जाजरकोट पुगेर रेडियोमार्फत भूकम्पपीडितलाई सघाउँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाजरकोट पुगेर रेडियोमार्फत भूकम्पपीडितहरूलाई सहायता गर्न सुरु गरेका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पको केही घण्टापछि उनले त्यहाँ पुगेर लाइभ रेडियो कार्यक्रममार्फत उपचार, राहतमा सहायता थालेका हुन् ।
लामिछानेले फेसबुकमा एक पोस्ट् गर्दै त्यहाँस्थित रेडियो पाइलामार्फत लाइभ रेडियो कार्यक्रम थालेको उल्लेख गरेका छन् । विपद्का समयमा सूचना प्रवाह गर्न रेडियो प्रभावकारी हुने भएकाले आफूले यसलाई रोजेको उनको भनाइ छ ।
सञ्चारकर्मबाट राजनीतिमा स्थापित हुन पुगेका लामिछानेले उक्त रेडियो कार्यक्रमको नाम ‘हेलो रवि’ दिएका छन् । कार्यक्रममा पीडितहरूले टेलिफोन या अन्य माध्यममार्फत गुनासो राख्न सक्ने र ती गुनासोलाई सरकारी निकायमा पु-याएर सहायता गर्ने सोच रविले बनाएका छन् । सबैभन्दा लामो समयसम्म टेलिभिजन टक शो गरेर गिनिज बुक अफ रेकर्डसमा नाम लेखाएका रविले त्यही अनुभवका आधारमा आवश्यक परे चौबीसै घण्टा रेडियोमा लाइभ गर्ने जनाएका छन् ।
लामिछानेले पार्टीभन्दा निकै माथि उठेर आफू भूकम्पपीडितलाई सघाउन जाजरकोट आएको उल्लेख गर्दै यसलाई राजनीतिसँग नजोड्न आग्रह गरे ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प जाँदा १५७ जनाको मृत्यु भएको छ भने केही दर्जन घाइते भएका छन् । भूकम्पले उत्तिकै मात्रामा निजी घरसमेत ध्वस्त भएका छन् । भूकम्पपछि सरकारले उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको र आइतबार राहत प्याकेज घोषणा गर्ने जनाएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया