‘जनताको स्वास्थ्य र सुरक्षाप्रति सरकार संवेदनशील छ’
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको स्वास्थ्य र सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।
धनकुटास्थित कोशी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०७९/८० मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी शुभारम्भ गर्दै उनले बजेट प्रतिस्थापन विधेयकमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी फरक ढङ्गले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले जनसेवा र जनसुरक्षामा कमी हुन नदिन नयाँ स्वास्थ्य सुरक्षा नीति चाँडै घोषणा गरिने जानकारी दिए । उनले स्वास्थ्यकर्मी सरकारको अङ्ग भएकाले जनउत्तरदायी भएर कार्य गरेमा मात्र सरकारको सफलता देखिने विचार व्यक्त गरे ।
जनतालाई स्वस्थ बनाउन सेवा प्रवाहमा कुनै किसिमको हेलचेक्रयाई नगर्न निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नैतिकवान् भएर स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरे ।
उनले आफ्नो ध्यान सरकार टिकाउनु नभइ सुशासन कायम गरी जनअधकारप्रति उत्तरदायी भएर कार्य गर्नु रहेको विचार पनि व्यक्त गरे । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुृर बस्नेतले स्वास्थ्य कार्यक्रमहरुको प्रगति समीक्षा प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य ऐन आए पनि नीति र नियमावली नबनेका कारण स्वास्थ्य योजना बनाउन समस्या भएको बताए ।
तीनदिने गोष्ठीमा प्रदेशका १४ जिल्लाका स्वास्थ्य कार्यालय, तालिम केन्द्र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बीमा बोर्ड, जिल्ला अस्पताल, निजी शिक्षण अस्पताल, स्वास्थ्य क्षेत्रमा कार्य गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया