भूकम्पबाट प्रभावित पत्रकारलाई महासङ्घको राहत

काठमाडौं । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट प्रभावित सञ्चार संस्था तथा पत्रकारलाई नेपाल पत्रकार महासङ्घले राहत उपलब्ध गराउने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घले वैदेशिक शाखा र अन्य सङ्घ संस्थामार्फत राहत सङ्कलनका लागि पहल गर्ने जनाएको छ । भूकम्पले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको असर र श्रमजीवी पत्रकारको पक्षमा गरिएको आन्दोलनका विषयमा पनि छलफल भएको महासङ्घका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए । पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्र बनाउन महासङ्घले प्रयास गरिरहेको उनको भनाइ थियो ।
अध्यक्ष पोख्रेलले कान्तिपुर मिडिया ग्रुपले महासङ्घलाई विभिन्न आरोप लगाउनु भन्दा गैरकानुनी ढङ्गबाट निष्कासित गरिएका पत्रकारलाई श्रमजीवी पत्रकार ऐनअनुसार सेवा, सुविधा दिन आग्रह गरे ।
महासङ्घका महासचिव रोशन पुरीले सङ्कलित राहत महासङ्घको केन्द्रीय समितिका पदाधिकारी, सदस्य तथा प्रदेश र जिल्ला समितिका पदाधिकारीबाट सङ्कलन गरेर प्रभावित क्षेत्रका सञ्चार संस्था र पत्रकारको विवरणका आधारमा वितरण गरिने बताए । उनले भूकम्पबाट दुईवटा सञ्चार संस्थाको भवन पूर्णरुपमा क्षति भएको जनाउँदै महासंघका दुई जना केन्द्रीय सदस्यसहित दर्जनौं पत्रकारले बास गुमाएका बताए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया