स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ
सोलुखुम्बु । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी भएको थियो । आगजनीबाट रु ४० लाख बराबरको क्षति भएको थियो । यस्तै गत असार ५ गते राति थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुमा जलेश्वर हाइड्रोपावरको बा२क ४७७८ नम्बरको स्काभेटरमा आगजनी गरिएको थियो । पेट्रोल छर्किएर गरिएको उक्त आगजनीबाट रु ४० लाखबराबरको क्षति भएको प्रहरी निरीक्षक मिश्रले बताए।
त्यसैगरी गत साउन ४ गते राति सोही स्थानमा जलेश्वर हाइड्रोपावरकै बा२क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु ८० लाखबराबरको क्षति भएको थियो । यस्तै गत मङ्सिर ३ गते राति थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुमा जलेश्वर हाइड्रोपावरकै प्रदेश–३–०१–००३क ६५४४ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु एक करोडबराबरको क्षति भएको थियो ।
“सबै घटनामा प्रज्ज्वलनशील पदार्थ प्रयोग गरी आगो लगाएको अनुसन्धानबाट खुलेको छ । आगजनीबाट चारवटै स्काभेटरमा पूर्णरूपमा क्षति पुगेको छ”, प्रहरी निरीक्षक मिश्रले भने । आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई पक्राउ परेका छन् । पाँचैजनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया