देशविदेशमा फैलँदै ‘माघी’

काठमाडौं । थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यस वर्ष पनि काठमाडौंँमा विशेष रूपमा मनाइने भएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौँ उपत्यकावासीलाई पनि तान्दैछ । विगतमा जस्तै यस वर्ष पनि थारू अगुवाले टुँडिखेलमा थारू राष्ट्रिय माघ (माघी) महोत्सव–२०८० आयोजना गरेका छन् ।
विशेष गरी थारू समुदायले मनाउने यो पर्वमा पछिल्लो समय जातजाति पनि आकर्षित भएको पाइन्छ । माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी पनि आकर्षित भएका छन् । माघीमा विशेषतः ढिक्री, घोँगी, माछा र गँगटा जस्ता परिकार खाने चलन छ ।
यस वर्ष माघी पर्व यही पुस २९ र आगामी माघ १ गते मनाउन लागिएको थारू कल्याणकारीसभाका महामन्त्री प्रेमीलाल चौधरीले बताए । सो कार्यक्रमको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेको जानकारी दिए । टुँडिखेलमा माघीका अवसरमा खानाको स्टल करिब एक सय १५ कक्ष रहेको महामन्त्री चौधरीले बताए । “सोमबार बिहान वसन्तपुरबाट झाँकी ¥याली सुरु भइ टुँडिखेल आउनेछ । महोत्सवमा मेची–महाकालीको थारूको नाचगान प्रस्तुति रहने छ ।”
सरकारले २०६३ सालदेखि माघीलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय सकारात्मक भएको महामन्त्री चौधरीले बताए। उनले भने, “विसं २०५९ देखि २०६२ सालसम्म थारूलाई मात्र बिदा दिने गरिएकोमा २०६३ सालबाट राष्ट्रिय पर्वका रुपमै मनाउने गरिएको हो ।”
लेखक तथा पत्रकार कृष्ण सर्वाहारीले माघीका अवसरमा बरघर (गाउँको मुखिया) छान्ने प्रचलनलाई काठमाडौंमा पनि लागू गर्नुपर्ने धारणा राखे। उनले भने, “माघी पर्वका अवसरमा बरघर छान्ने प्रचलनलाई काठमाडौंमा पनि आफ्नो गाउँघरका लागि के योगदान गर्न सकिन्छ भन्नेमा छलफल हुन जरुरी छ ।” उनले थारूका मुख्य परिकारहरु ढिक्री, घोँघी, महुवाको जाँडजस्ता परिकारलाई प्रबद्र्धनको आवश्यकता भएको बताए ।
पूर्वमन्त्री गोपाल दहितले २०५९ सालदेखि काठमाडौंका थारूलाई लक्षित गरी माघी पर्व महोत्सव गर्न लागिएको बताए । उनले माघीमा ‘मघौटा नाच’ नाच्ने र चिसो मौसमबाट बच्न सकिने खानेकुरा खाने गरेको बताए । पहिले गाउँघरमा मात्रै सीमित माघी पर्व अहिले सहरहुँदै विदेशमा समेत पुगेकोमा उनले खुसी व्यक्त गरे ।
पछिल्लो समय अमेरिका, अष्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, कतारजस्ता देशमा पनि त्यहाँ रहेका थारूले माघी पर्व मनाउन थालेको पूर्वमन्त्री दहितको भनाइ छ । उनले भने, “पहिला थारूहरूले घोँगी खान लाज मान्थे तर अहिले काठमाडौंको हरेक होटलमा घोँगी परिकार राखिएको हुन्छ, यो सबैभन्दा धेरै बेचिने परिकार बनेको छ, यसको मुख्य कारण माघी महोत्सवको आयोजना नै हो ।”
तराईमा बस्ने थारूहरूले पौष्टिक खानाका रूपमा प्रयोग गर्दै आएको गँगटो, माछा, घोँगीजस्ता परिकार अहिले लोकप्रिय भएको दहितले बताए । उनले खाना मात्रै नभइ थारूका पहिरनको लोकप्रियता बढेको बताए ।
काठमाडौंमा थारुहरुको बसोबास बढ्न थालेसँगै खुल्ला मञ्च हुँदै टुँडिखेलमा माघी पर्व मनाउन थालिएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका पदाधिकारी सीताराम थारूको भनाइ छ । उनका अनुसार पहिले एक महिनासम्म माघी मनाउने गरिएकोमा पछिल्लो समय पुस २९ र माघ १ गते मात्रै मनाउने गरिएको छ ।
प्रतिक्रिया