चिसो बढेपछि उपत्यकाका विद्यालय बन्द
ढोरपाटन । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ ।
ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले गत पुस १५ गतेबाट बन्द गरिएका विद्यालय आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने जानकारी दिए । ती छ विद्यालयमा करिब तीन सय विद्यार्थी अध्ययनरत रहेका जनाइएको छ । उनले भने, “ढोरपाटन उपत्यका क्षेत्रका छवटा विद्यालय बन्द छन्, अब फागुन लागेपछि मात्रै खुल्छन्, एउटा जनवादी आधारभूत विद्यालय भने बोबाङ झरेको छ, पहिलेदेखि नै घुम्ती विद्यालय हो, यो बर्खामा ढोरपाटन, हिउँदमा बोबाङबाट पढाइ हुन्छ, यहाँका स्थानीय पनि हिउँद–बर्खा छुट्टाछुट्टै ठाउँमा बस्ने हुँदा विद्यालय पनि सोहीअनुसार सञ्चालन भएको छ ।”
सिद्धबराह प्राथमिक विद्यालय छेन्तुङका शिक्षक प्रेमबहादुर विकले यो याममा ढोरपाटनमा पठनपाठन गर्न नसकिने हुँदा विद्यालय बन्द गर्नुपरेको जानकारी दिए । यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरूलाई चिसोबाट बचाउनका विद्यालय बन्द गर्नुको विकल्प नभएको उनले बताए । ठाउँ चिसो र त्यसमाथि सिमेन्टका भवनमा बसेर अध्ययन गर्दा बालबालिका बिरामी हुने गरेको उनको भनाइ छ ।
“यहाँ हिउँदमा पनि पढाइ सञ्चालन गर्न सरकारले कुनै विकल्प दिनुपर्छ, हिटर अथवा अन्य कुनै न्यायो प्रदान गर्ने सामग्री व्यवस्थापन गर्नुपर्ने हुन्छ भने धेरैजसो बालबालिका सामान्य परिवारका छन्, उनीहरूलाई न्यानो कपडा र जुत्ताको व्यवस्था गर्नुपर्छ”, उनले भने, “त्यो नभएसम्म हिउँदको दुई महिना पठनपाठनमा निकै समस्या हुन्छ, बर्खामा भने बिदा नगरी पढाउँछौँ ।”
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया