प्रस्तावित रेलमार्गमा बाक्लो बस्ती परेपछि विकल्पको खोजी

चितवन । भरतपुर महानगर हुँदै जाने प्रस्तावित रेलमार्गमा एक हजारभन्दा बढी घर पर्ने भएपछि वैकल्पिक रेलमार्गको अध्ययन गरिने भएको छ ।
भरतपुर महानगरपालिकाले आज बोलाएको छलफल कार्यक्रममा वैकल्पिक मार्गका बारेमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । रेल विभाग, परामर्शदाता कम्पनी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला छलफलमा सहभागी थिए । महानगर प्रमुख रेनु दाहालका अनुसार महानगर, रेल विभाग र कोरियन परामर्शदाताका प्रतिनिधि सहभागी भएर वैकल्पिक रेलमार्गको अध्ययन गर्ने सहमति भएको हो । महानगरपालिकाले भरतपुर वडा नं ११ र १२ को वन क्षेत्रको सीमाबाट वैकल्पिक रेलमार्ग प्रस्ताव गरेको छ ।
यसैगरी राप्ती नदी किनार हुँदै दोस्रो विकल्प महानगरले प्रस्ताव गरेको छ । यी मार्गको अध्ययन गर्न लागिएको हो । प्रमुख दाहालका अनुसार अहिले प्रस्तावित रेलमार्गमा महानगरपालिकाको वडा नं ८, ७, ४ र १६ का एक हजारभन्दा बढी घरधुरी पर्दछन् । बाक्लो बस्ती हुँदै रेलमार्ग सम्भावना नहुने भएकाले वैकल्पिक मार्गको प्रस्ताव गरेको उनले जानकारी दिइन । रेलमार्ग प्रस्ताव गरिएका क्षेत्रका बासिन्दाले ठूलो नोक्सान हुने भन्दै सङ्घर्ष समिति बनाएर दबाब दिँदै आएका छन् ।
स्थानीयको मागपछि केही दिनअघि महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सचिव, रेल विभागका महानिर्देशकलगायतको उपस्थितिमा महानगरपालिकाले छलफल गरेको थियो । छलफलमा रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालसहित विभागका परामर्शदाता कम्पनीका इञ्जिनियरहरुको सहभागिता रहेको थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया