के हो कुष्ठरोगको लक्षण ? कसरी जोगिने ?

काठमाडौं । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ । स्वास्थ्य सेवा विभागका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनी सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई नसर्ने र अपाङ्गता हुनबाट जोगाउने बताए ।
महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०८९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ । कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन् । मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् नौ सय ४४ बिरामी रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।
कुष्ठरोगले मुख्यतया तपाईको छाला र तपाईको मस्तिष्क र मेरुदण्ड बाहिरका स्नायुहरूलाई असर गर्छ, जसलाई परिधीय स्नायु भनिन्छ। यसले तपाइँको आँखा र तपाइँको नाक भित्रको पातलो तन्तुलाई पनि प्रहार गर्न सक्छ।
लक्षण
मुख्य लक्षण भनेको छालाको घाउ, गाँठो, वा बम्पहरू विकृत हुनु हो जुन धेरै हप्ता वा महिनासम्म पनि हट्दैन। शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु सुरूको चिह्न हो।
यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन्। अन्त्यमा अपाङ्गता हुन सक्छ।
स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनि सचेत हुनपर्छ र चिकित्सकको सल्लाह लिनुपर्दछ ।
उपचार
यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका अर्थात (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन। कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशूल्क पाइन्छ।
कुनै पनि रोगका औषधिको साइड इफेक्ट भएजस्तै कुष्ठरोगको पनि केही साइड इफेक्ट देखिन्छ। जस्तै : खानामा रुची नहुने बाकबाकी लाग्ने कहिलेकाहिँ रुघाखेकी र सामान्य ज्वरो पनि आउने गर्छ। तर यस्तो समस्यामा खासै आत्तिनु पर्दैन। तर बढी नै समस्या देखिन थाल्यो भने नजिकको स्वास्थ्य संस्था जानु पर्दछ।
आज एकहत्तरौँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
प्रतिक्रिया