लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार
सिरहा । लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ ।
यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गरे ।
सम्झौताअनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा वडावडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । शिविरमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने लक्ष्य राखिएको छ ।
गाउँघरमै आँखा जाँच शिविर सञ्चालनले यहाँका गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिल्ने नगरप्रमुख चौधरीको भनाइ छ । ‘गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्’, उनले भने, ‘आँखा जाँच शिविरले गाउँका नागरिकलाई धेरै राहत मिल्नेछ ।”
नगरपालिकाले गत वर्ष पनि एक हजार जनाको शल्यक्रिया र सात हजारभन्दा बढीको आँखा जाँच शिविर सञ्चालन गरी निःशुल्क उपचार गराएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया