निलम्बित प्रधानन्यायाधीश जबराको विभूषण रोक्ने निर्णय
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि उनलाई दिने निर्णय भएको विभूषण सरकारले रोक्ने भएको छ । आगामी १ वैशाखमा विभूषण प्रदान गर्न लागिएकोमा जबरालाई भने समारोहमै नबोलाइने गृह मन्त्रालयले जनाएको छ ।
जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप दिने निर्णय गत असोजमा सरकारले गरेको थियो । संविधान दिवसमा घोषणा भएका विभूषण १ वैशाखमा प्रदान गरिने प्रचलन छ । अन्यको हकमा १ वैशाखमा विभूषणका लागि बोलाइएको छ, तर जबरालाई भने नबोलाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
‘उनको विभूषण बनेर त आइसकेको छ,’ गृहका ती अधिकारीले भने, ‘तर, भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका व्यक्तिलाई त्यो विषय टुंगो नलागेसम्म नदिनु ठीक हो भनेर स्थगन गर्न लागेका छौं।’
सोमबार गृहले विभूषण लिनका लागि सूचना जारी गरेको थियो । जुन सूचीमा जबराको समेत नाम छ । बुधबार यस विषयमा गृह मन्त्रालयमा छलफल भएको थियो, जसमा उनीमाथिको महाभियोगको टुंगो लागेपछि मात्र विभूषण दिने वा रद्द गर्ने निर्णय गरिने र तत्कालका लागि स्थगन गर्ने निर्णय भएको हो । गृहले विभूषणअन्तर्गत राष्ट्रपतिबाट प्रदान गरिने मानपदवी लिनका लागि २८ चैतभित्र पास लिन सूचना जारी गरेको छ । अलंकार र पदक भने मन्त्रालयले आफैँ वितरण गर्दछ ।
पदको दुरुपयोग गरेको आरोपमा गत १ फागुनमा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा परेका थिए । आगामी मंसिरमा अवकाश पाउन लागेका जबरामाथि छानबिन गर्न सिफारिस समितिसमेत बनिसकेको छ । तर, समितिको बैठक भने बस्न सकेको छैन । विभूषण दिने निर्णय गरेका व्यक्तिमाथि फौजदारी अभियोग लागेमा त्यस्तो विभूषण रद्द गर्न सकिने विभूषण नियमावलीमा प्रावधान छ । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया