छापामा आज : कसले के लेखे ?

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विभिन्न विषयलाई समाचारको रूप दिएर छापेका छन् । आजका सबैजसो अखबारको मुख्य प्राथमिकतामा भने कांग्रेस महासमिति बैठक र परिवार नै सखाप हुने गरी काठमाडौंको सितापाइलामा भएको हत्याको विषय परेको छ । यसबाहेक भूकम्पपीडितले झेलेको कहर, मिटरब्याजपीडितको संघर्षलगायत विषयलाई पनि अखबारहरूले उठाएका छन् ।
कान्तिपुर दैनिकले कांग्रेस महासमिति बैठक नागरिकका मुद्दा छाडेर गठबन्धनमा मात्र केन्द्रित भएको लेखेको छ ।
राजनीतिक दलहरूप्रति नागरिकमा बढ्दै गएको आक्रोशलाई मत्थर पार्न सरकारले तत्काल निर्णय लिनुपर्ने र सम्बोधन गर्नुपर्ने थुप्रै मुद्दा भए पनि सरकारको प्रमुख घटक र संसदको ठूलो दल नेपाली कांग्रेसको नीति निर्माण गर्ने महासमिति बैठक जल्ला बल्दा आम सरोकारका विषयमा नभएर गठबन्धनका विषयमा मात्र केन्द्रित भएको समाचारमा उल्लेख छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितले झेलेको कहरलाई पनि कान्तिपुरले आज प्राथमिकताका साथ उठाएको छ । समाचार अनुसार चिसोका कारण भूकम्पपीडितहरू सकसमा परेका छन् । ३८ भूकम्पपीडितको त त्रिपालमै ज्यान गइसकेको छ । भूकम्पपीडितको दैनिक जनजीवन कष्टकर बने पनि पुनर्निर्माणको कामले भने गति पक्डन सकेको छैन ।
सीतापाइलामा भएको घटनालाई कान्तिपुरले ‘पारिवारिक कलहले ४ को मृत्यु’ शीर्षकमा समाचार छापेको छ । सीतापाइलामा बुधबार एक युवकले श्रीमती, छोरी तथा नातिनीको कोठामै हत्या गरेर जंगलमा गई आत्महत्या गरेका थिए ।
नयाँ पत्रिका दैनिकले मिटरब्याजपीडित न्याय माग्दै पैदलै हिँडेर काठमाडौं आएको प्रसंगलाई मुख्य समाचार बनाएको छ ।
गत चैतमा ११ दिन पैदलै हिँडेर राजधानी आएका मिटरब्याजपीडितलाई सरकारले न्याय दिलाउने लिखितम गराएर फर्काएको थियो । तर सरकारले आफ्नो वाचा पूरा नगरेपछि पीडितहरू पुनः न्याय माग्दै काठमाडौं आएका हुन् ।
कांग्रेस महासमिति बैठकमा उठेका प्रसंगलाई पनि नयाँ पत्रिकाले उत्तिकै प्राथमिकता दिएर पहिलो पृष्ठमा छापेको छ । समाचार अनुसार गठबन्धन रणनीति हुनुपर्ने मत बलियो देखिएको छ ।
नागरिक दैनिकले देशभरका अदालतमा परेका मुद्दाबारे सोधीखोजी गरेको छ । ‘मुद्दै मुद्दाको देश’ शीर्षक दिएर लेखिएको समाचार अनुसार, अदालतमा तेब्बर संख्यामा मुद्दा बढेको छ । मुद्दा पर्ने क्रम बढ्ने तर छिनोफानो समयमा नहुने प्रवृत्तिले देशभर किनारा लाग्न बाँकी मुद्दाको संख्या डेढ लाख पुगेको छ ।
‘देशभरका अदालतमा मुद्दाका चाङ बढ्दा समयमै फछ्र्योट चुनौतीपूर्ण बन्दै गएको सर्वोच्च अदालतले जनाएको छ । विगत १० वर्षको तथ्यांक तुलना गर्दा अदालतमा तेब्बर दरमा मुद्दा बढेको देखिन्छ,’ नागरिकले समाचारको लिड लाइनमा लेखेको छ ।
यसबाहेक मिटरब्याजपीडित न्याय माग्दै काठमाडौं आइपुगेको, वैदेशिक व्यापारमा संकुचन आएको, गठबन्धनलाई लिएर कांग्रेस बैठकमा कचिंगल चलेको लगायत खबर पनि नागरिक दैनिकको पहिलो पृष्ठमा छन् ।
अन्नपूर्ण पोस्ट् दैनिकले एनजिओ/आइएनजिओभित्रका वेथिति चिरफार गरेको छ । एनजिओ र आइएनजिओमा पछिल्लो ५ वर्षमा साढे १० खर्ब रूपैयाँ आएको थियो । यतिका रकम देशभित्र भित्रिए पनि त्यो कहाँ, कसरी खर्च भयो ? कुनै पारदर्शिता नरहेको अन्नपूर्णले लेखेको छ ।
यसबाहेक कैलालीमा ४०० गाईगोरुको कंकाल फेला परेको, कांग्रेस महासमितिमा नेता अर्जुननरसिंह केसीले ५०० र १००० का नोट प्रतिबन्ध गर्न प्रस्ताव गरेकोलगायत खबर पनि अन्नपूर्णमा पढ्न सकिन्छ ।
सरकारी मुखपत्र गोरखापत्र दैनिकले सरकारी जग्गा फिर्ता ल्याउन सफल भयौं भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएको छ भने राजधानीले कांग्रेसमा एकल चुनाव लड्ने संकल्पमा सहमति जुटेको लेखेको छ ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया