बागलुङमा युवाले थाले कोदोको बिस्कुट उत्पादन
घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८, लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।
गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कोदोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन् । ०७७ मा सो उद्योग स्थापना भएको थियो ।
लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी श्रीसले जानकारी दिए ।
कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने उनको योजना छ ।
“जागीरको मानसिकता थिएन, पाँच वर्ष काठमाडौँमा रेष्टुराँ व्यवसाय गरे, पढाइमा स्नातक सके पनि जागीर खाइनँ, कोरोनाकालमा गाउँ फर्केपछि रेष्टुराँ बन्द भयो, यही उद्योगमा लागे”, उनले भने, “रु ५० लाख लगानीमा कोदोको बिस्कुट बजारमा पु–याएको छु, अहिले धेरै स्थानबाट कोदोको बिस्कुटको माग बढिरहेको छ, कोदोको बिस्कुटको निकै राम्रो सम्भावना देखेको छु ।”
कुनै समय गरिबको खानाको रूपमा चिनिएको कोदोको परिकारको महत्व पछिल्लो समय बढिरहेको सन्दर्भमा युवा व्यवसायी श्रीसले नेपालमै पहिलोपटक कोदोको बिस्कुट बजारमा ल्याएको दाबी गरे । आफूले सिए अध्ययन गर्ने क्रममा विभिन्न उद्योगको अवलोकन भ्रमणको क्रममा बिस्कुट कम्पनीको अध्ययन गरेको बताउँदै सिए बन्ने सपना पूरा नभए पनि उद्यमी बन्ने सपना पूरा गर्नतर्फ लागेको बताए । उनले अहिले गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई रु २० मा बजार पठाएको बताए ।
उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रमअन्तर्गत रु १० लाख अनुदान पाएपछि आफूले उद्योग सुरु गरेको उनको भनाइ छ । गाउँमा रहेको कच्चा पदार्थ कोदोलाई ब्रान्ड बनाउन सके कोदोको उत्पादन बढ्ने उनले बताए ।
“पछिल्लो समय कोदो खेती कम हुँदै आएको छ, संरक्षण गर्नुपर्ने अवस्थामा पुग्न थालेको कोदोलाई गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानसमेत उत्साहित हुन थालेका छन्”, उनले भने, “बजारमा गहुँ, जौ र मकैको बिस्कुट आए पनि कोदोको बिस्कुट आएको थिएन, कोदो, गहुँ, घ्यू र तेलको समिश्रणमा उक्त बिस्कुट तयार हुन्छ, माग बढ्दै गएपछि उत्पादन बढाउने योजनामा छु ।”
जिल्लाको बजारमा बिक्रीका लागि पठाइएको कोदोको बिस्कुटको माग बढेको मात्रै छैन नमूना बजारीकरणका लागि पोखरा र काठमाडौँको सुपर मार्केटमा समेत पठाएको उनको भनाइ छ ।
आफूले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रणको कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको हो । अर्गानिक गाउँको उत्पादित कोदोबाट बनाइएको बिस्कुटले स्वास्थ्यलाई समेत फाइदा गर्ने उनको भनाइ छ ।
दैनिक ६० केजी बिस्कुट उत्पादन गर्ने क्षमता उद्योगको रहेको छ । उद्योगमा अहिले दुई जनालई प्रत्यक्ष रोजगारीसमेत दिइएको छ । कोदोको बिस्कुटको प्याकेजिङमा कृषि ज्ञान केन्द्रले सघाउने उनको भनाइ छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया