ताप्लेजुङका दश हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै
फुङ्लिङ । ताप्लेजुङ जिल्लामा दश हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै छ । सरकारले सञ्चालन गरेको राष्ट्रिय खोप अभियान अन्तर्गत ताप्लेजुङका सबै क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खोप लगाउन लागिएको हो ।
यही फागुन १८ देखि २२ गतेसम्म फुङ्लिङ नगरपालिका, पाथीभरा यावरक, सिदिङवा, र सिरिजङ्गा गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए ।
त्यस्तै मेरिङदेन, मैवाखोला, आठराई त्रिवेणी, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका क्षेत्रमा फागुन २४ देखि २८ गते सम्ममा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका दश हजार बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।
खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइनेछ । खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्ना बालबालिकालाई खोप लगाउन कार्यालयले आह्वान गरेको छ । खोपबाट ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने जनाइएको छ । खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।
दादुरा–रुवेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । खोप अभियानमा सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन् । हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।
सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गरिएको हो । देशभरका ४९ हजार खोप केन्द्रमार्फत ६० हजार महिला स्वास्थ्य स्वयंसेविका र ४४ हजार स्वास्थ्यकर्मीमार्फत् खोप अभियान सञ्चालन हुनेछ । यो अभियान सञ्चालनमा रु एक अर्ब ३६ करोड खर्च लाग्नेछ । जसमध्ये ८४ प्रतिशत रकम गाभी (ग्लोबल भ्याक्सिनेशन अलाइन्स) ले अनुदान दिएको छ भने बाँकी नेपाल सरकारले ब्यहोर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया