केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध
काठमाडौं । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो ।
केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा एक वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको जानकारी दिए ।
विभागले एकजना कैदीबन्दीको लागि रु तीन हजार ५०० उपलब्ध गराएर स्वास्थ्य बीमा गरिदिएको हो । कैद भुक्तान गरेर कारागार बाहिर निस्किएपछि उक्त बीमा स्वतः खारेज हुने उनले बताए । कारागार प्रशासक ललित बस्नेतले कैदीबन्दीको स्वास्थ्यका लागि सहयोग पुग्ने उद्देश्यले कैदीबन्दीका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको बताए ।
उक्त कार्यक्रम सञ्चालन भएसँगै अब कैदीबन्दीले रु एक लाख बराबरको उपचार बीमाबाट गर्न पाउने उनको भनाइ थियो । यसबाहेक सरकारले केन्द्रीय कारागार अस्पतालमार्फत कैदीबन्दीको उपचार गर्दै आएको छ । तीस श्ययाको केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि सम्भव नभएका रोगका बिरामीलाई विभिन्न २५ अस्पतालसँग सम्झौता गरेर कैदीबन्दीको उपचार गर्दै आइरहेको कारागार प्रशासक बस्नेतले बताए ।
कारागार अस्पतालले हाल ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगलगायतका रोगको उपचार गर्दै आएको छ । सो अस्पतालले बेलाबेलामा कैदीबन्दीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कैदीबन्दीलाई खानपान, जीवनयापन, रहनसहनलगायतका कुरासमेत सिकाउँदै आइरहेको छ ।
केन्द्रीय कारागार र त्यस मातहत हाल तीन हजार ७२१ कैदीबन्दी रहेका छन् । जसअन्तर्गत केन्द्र जेलमा एक हजार ८७३, भद्र जेलमा एक हजार १६७, महिला जेलमा ४५३, बाल सुधार गृह भक्तपुरमा २२८ र ११ नाबालक छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया