बेनीमा घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्य
बेनी । म्याग्दी र म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्यमा झरेको छ ।
घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलालाई सुत्केरीपछि पनि विभिन्न स्वास्थ्य समस्याले सताइरहने हुनाले घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झारिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’ शून्य बनाइएको शाखाका प्रमुख चन्दन सुवेदीले बताए । “बेनी नगरपालिकामा सबै गर्भवतीले पछिल्लो दुई वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिइरहेका छन्”, उनले भने, “होम डेलिभरी शून्य पालिकालाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।”
नगरपालिकामा आर्थिक वर्ष २०७८/७९ मा आठ सय ४७, २०७९/८० मा छ सय ७७ र चालु आवको हालसम्म दुई सय ३५ जनाले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुवेदीले जानकारी दिए । उनका अनुसार आव २०७८/७९ देखि नगरपालिकामा घरमा सुत्केरी हुने आमाको सङ्ख्या शून्य छ ।
दशवटा वडा रहेको बेनीमा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् । आठपटक गर्भजाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र सचेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन् ।
“गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भएका छन्”, उनले भनिन्, “सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास प्रभावकारी बनेका छन् ।”
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया