खोटाङमा डढेलोबाट २० लाख बढीको क्षति
खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको छ ।
बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो । गाउँका अन्य घरलाई स्थानीय बासिन्दाको प्रयासले आगोबाट जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । गाउँको चारैतिर फैलिएको सामुदायिक वनमा डढेलो लाग्दा खिसाका र ढाँडे बस्तीमा दिनभर समस्या भएको थियो ।
साँझ परेपछि हवारातिर डढेलो फैलिँदै गएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिए । गाउँ पसेको डढेलो अस्थायी प्रहरीचौकी भँडारेघाट र प्रहरीचौकी दिप्रुङ चुइचुम्माबाट खटिएका प्रहरी, गाउँ प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणको प्रयास गरिरहेका छन् ।
सामुदायिक वनमा लागेको डढेलोले वनस्पति र जङ्गली जनावर नष्ट भइसकेको स्थानीय बासिन्दाले बताएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकासँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, साकेला गाउँपालिकाको मात्तिम, खोटेहाङ गाउँपालिकाको खोटाङबजार र रावाबेँसी गाउँपालिकाको डुम्रेधारापानीमा रहेको सामुदायिक वनमा डढेलो लागिरहेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दासँगै प्रहरीसमेत परिचालन गरिएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा हिउँद लागेसँगै आगलागीको समस्या हुने जनाइएको छ । यस्तो समस्या हुन थालेपछि कतिपय स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया