कोदालो प्रहारबाट दुई कर्मचारीसहित तीन गम्भीर घाइते
बैतडी । बैतडीमा कोदालो प्रहारबाट आज तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन् ।
डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामी, दशरथचन्द नगरपालिका–९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभास कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट घाइते भएका छन् ।
बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार किसानले आफ्नो घरमै श्रीमती पार्वतीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए । त्यस लगत्तै उनकै घरमा डेरा गरी बस्दैआएका कलौनी र भट्टमाथि पनि किसनले कोदालो प्रहार गरेका थिए ।
घाइते तीनै जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
किसानले कोदालो प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट
-
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
-
सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू
-
४८ राष्ट्रको महाकुम्भमा फुटबलको नयाँ युग


प्रतिक्रिया