मौलिकता गुमाउँदै होली
दोधारा । हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ ।
होलीको बेला राम, कृष्णलगायतका देवीदेवताको स्तुति र वीर पुरुषका गाथा सहित सामाजिक, प्राकृतिक विषयवस्तुमा आधारित गाथा प्रस्तुति गर्ने चलन भएकोमा पछिल्लो समय केवल रङ्गहरुमा मात्रै होली सीमित हुने गरेको छ ।
पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई नृत्य र गीतको रुपमा प्रस्तुत गरिन्छ ।
साहित्यकार कविराज भट्ट होली प्रस्ुततिका आधारमा खडी तथा बैठी गरेर दुई किसिमको हुने गरेको बताउँछन् । उनका अनुसार खडी होली गोलाकार रुपमा पङ्तिबद्ध भई नृत्य तथा अभिनय गर्दै प्रस्तुत हुन्छ, भने बैठी होली बसेर तालीसँग खेल्ने गरिन्छ ।
“अहिलेको पुस्ता त होली भनेपछि रङ्ग दल्ने मात्रै बुझ्न होलीको आफ्नै मौलिकता छ”, साहित्यकार भट्टले भने, “होली महिमा र गरिमालाई अहिलेका पुस्ताले आत्मसात गर्नु जरुरी छ ।” उनले होलीमा विभिन्न लोक बाजाहरुको प्रयोग गरिने बताए।
“देवस्थल, सार्वजनिकस्थललगायत घर–घरमा गएर होली खेल्ने प्रचलन परापूर्वकालदेखि चल्दै आएको पाइन्छ ।” उनले भने, “होली विजय तथा खुसीयालीको पर्व भएकाले विशेष गरी रङ लगाउँदै मनोरञ्जन गरिन्छ ।” उनले होलीमा विभिन्न विषयवस्तुमा आधारित गाथाका साथै आशिषसमेत दिने गरेको बताए।
होलीमा प्रस्तुत गरिने गाथामा हाम्रो इतिहास एवम् मौलिक पहिचान लुकेको प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिमका अध्यक्ष रमेश पन्तले बताए। उनले भने “यसले भाषा, साहित्य एवम् लोक साहित्य र लोकवार्ताका विषयवस्तुलाई झल्काउने भएकाले गहन अध्ययन तथा प्रस्तुतिमा निरन्तरता दिनु आवश्यक छ ।” उनले होलीलाई अतिरञ्जनात्मक बनाइ मादक पदार्थको सेवन तथा जथाभावी रङ मात्र दल्ने परिपाटी बढ्दै गएपछि होलीको मौलिकता हराउँदै गइरहेको बताए ।
“अहिले होलीमा डिजेको प्रयोग गरेर नाच्ने गरिन्छ ।” स्थानीय गणेश भट्टले भने, “यसले गर्दा हाम्रा लोकबाजा र ती मौलिक गीत हराउन थाले ।” उनले अहिलेको पुस्ताले परम्परालाई आत्मसात गर्नुपर्ने बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होली पर्वमा उच्छृङ्खल गतिविधि नगर्न आग्रह गरेको छ । प्रहरीले होली पर्वलाई सभ्य, शिष्ट, र मर्यादित तवरले मनाउन सबैलाई आग्रह गर्दै अपराधिक क्रियाकलाप गरे कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया