नयाँ मुना पलाएपछि सुरु भयो चियाको पहिलो टिपाइ

मङ्गलबारे । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो ।
यस वर्ष ढिलो पानी परेकाले पनि ढिलो गरी नै चिया पलाएको किसानको भनाइ छ । गएका वर्षमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको भए पनि यस वर्ष चैत अन्तिममा मात्र चियाको टिपाइ सुरु भएको बताइएको छ ।
जिल्लाको तल्लो क्षेत्रमा चिया टिप्न सुरु गरिएको भए पनि माथिल्लो क्षेत्रमा अझै चिया पलाएको छैन । लेकाली क्षेत्रमा अझै मुना नपलाएको किसान ठाकुर खतिवडाले बताए । मध्यम र तातो बढेका क्षेत्रमा मुना पलाएकाले चिया टिप्न सुरु गरिएको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले पनि यो चिया महङ्गो मूल्यमा बिक्ने गरेको छ ।
पहिलो टिपाइलाई ‘फस्ट फसल’ समेत भन्ने गरिन्छ । यसबाट गुणस्तरीय चिया निर्माण हुने भएकाले विदेशी नागरिकले समेत पहिलो टिपाइ नै खोज्ने गरेका छन् । चियाको टिपाइ सुरु भएपछि बगानका मजदुर व्यस्त भएका छन् । चिया कारखानाले पनि चिया प्रशोधनको तयारी थालेका छन् ।
केही कारखानाले यस वर्षको चिया उत्पादन गर्न थालेको बताइएको छ । हिउँदमा खाली रहेका चिया किसानसमेत अब भने व्यस्त हुने भएका छन् । चिया चैतबाट टिपाइ सुरु भएर कात्तिकदेखि उत्पादन बन्द हुन्छ ।
चिसो मौसम सुरु भएसँगै चियाको उत्पादनसमेत बन्द हुने गरेको छ । कात्तिक र मङ्सिर महिनामा चियालाई छाँटकाँट गरिन्छ । फागुन र चैतमा चियालाई गोडमेलसँगै गाई वस्तुको मल पनि लगाइने गरेको छ । चियाको टिपाइ करिब सात दिनको अन्तरमा हुने गरेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया