मोदीको शपथमा भाग लिन आज प्रधानमन्त्री प्रचण्ड भारत जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् ।
प्रधानमन्त्री दाहालका साथ कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी सुपुत्री गङ्गा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् ।
प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।
भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।
प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए ।
सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गरेको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया