बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

डुम्रे । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् ।
परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् ।
अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा आजदेखि सञ्चालनमा ल्याइएको कार्यकारी अधिकृत किरण पोख्रेलले बताए । पोख्रेलले भने, “वैशाख १ गते शुभ मुहूर्त तथा वास्तुपूजा गरी आंशिक रुपमा सञ्चालनमा ल्याएका थियौँ । आजदेखि व्यावसायिक रुपमा सञ्चालन गर्न लागेका हौँ ।”
टियुभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करिब एक वर्ष अघिदेखि नै केवलकारको सम्पूर्ण मेकानिकल सामग्रीको जडान गरी लोड परीक्षण भइरहेको थियो ।
तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टियुभी’ प्रमाणपत्र प्राप्त भएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । “कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केवलकार सञ्चालनका लागि खुल्ला गरिएको हो”, उनले भने ।
“केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने छ । यसले पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिएका छौँ”, अध्यक्ष शर्माले भने। बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् । प्रति घण्टा पाँच यात्रु बोक्न सक्ने क्षमता रहेको यस केवलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया