मनकामना केबुलकार ५० दिन बन्द हुने

मुग्लिन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ ।
केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
उनका अनुसार डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबुल तार लट्ठा फेर्न लागिएको प्रालिका नायब महाप्रबन्धक शेरचनले बताए ।
स्तरोन्नति कार्यका लागि दक्ष प्राविधिक अष्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट नै आउने उनले बताए । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको हो ।
केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुरेन्ट सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
ताजा अपडेट
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
प्रतिक्रिया