सडक कालोपत्रसँगै सुक्न थाले बालकोटका ढुंगेधारा
भक्तपुर। सूर्यविनायक नगरपालिका-२ बालकोटका पुराना ढुङ्गेधारा बिस्तारै लोप हुने चरणमा पुगेका छन् । विसं २०७२ सम्म दुई ढुङ्गेधारा रहेको धारापाटीमा अहिले धाराको ठाउँमा पाइपको टुक्रामात्र राखिएको छ ।
विसं २०४९ मा धारा सुकेपछि जमिनमुनि खनेर पानी निकालेर चलाइएको थियो । बिस्तारै बोरिङको पानी पनि सुक्न थालेपछि पछिल्लो दुई वर्षदेखि ढुङ्गेधारामा पानी आउँदैन । पानी सुक्नुको मुख्य कारण धाराको पानीको मुहानमाथि सडक कालोपत्र गरिरहेको पाइएको छ ।
परम्परागत रुपमा ढुङ्गेधारामा आउने पानीलाई नागदेवताको आशीर्वाद मानिन्छ तर अहिले ढुङ्गेधारा पाइपको सानो टुक्रा र फोहरले ढाकिएको स्थितिमा सीमित हुन पुगेको छ । सहरिया जीवनशैलीका कारण ढुङ्गेधाराको सुरक्षा र संरक्षणका लागि यहाँका स्थानीय बासिन्दाले पनि पछिल्लो समय ध्यान दिन छाडेका छन् ।
धारामा पानी नआउने हो भने धाराको महत्व घट्दै गएर अहिले फोहरको थुप्रोले धारा पुरिन थालेका छन् । सूर्यविनायक–२ स्थित स्थानीय गुप्तेश्वर संरक्षण समितिले खानेपानीको सहज उपलब्धताका लागि सम्बन्धित निकायमा आग्रह गरेपछि हप्ताको एक दिन घरको धारामा खानेपानी आउने गरेको छ ।
सांस्कृतिक र धार्मिकरुपमा पनि महत्व बोकेको ढुङ्गेधारा अहिले उपलब्ध नहुुँदा यहाँका बासिन्दा चिन्तित देखिन्छन् । “सडक कालोपत्र हुँदै गए, ढलान भए र पानीको मुहान नै सुकेपछि ढुङ्गेधारा पनि सुक्दै गए”, स्थानीय गुप्तेश्वर संरक्षण समितिका अध्यक्ष शिवराम श्रेष्ठले भने, “यहाँका दुई ढुङ्गेधारा एकदमै कलात्मक थिए, विभिन्न देवीदेवताका मूर्ति पनि यहाँ रहेका थिए तर बिस्तारै मूर्ति हराउँदै गए र अहिले ढुङ्गेधारा सुक्दै गएका छन् ।”
ढल खन्दै जाने क्रममा मुहान भेटिएको र त्यसैलाई सुरक्षित साथ राखेर ढुङ्गेधाराको निर्माण गरिएको थियो । उनका अनुसार दुई–तीन सय वर्ष अगाडिदेखि चलनमा आएको ढुङ्गेधारा बोरिङको पानीका भरमा सधैं चल्न सकेनन् । “विसं २०७९ मा फेरि बिस्तारै धारा सुक्दै गए, वर्षाको बेलामा मात्र पानी आउन थाल्यो, ढुङ्गेधाराको संरक्षणका लागि वडा कार्यालयले आर्थिक सहयोग गर्ने गरेको छ”, उनले भने । विसं २०७९ मा पानी सुक्दा वडाको आर्थिक सहयोगमा सात/आठ ठाउँमा बोरिङ गर्दा पनि पानीको स्रोत पत्ता नलागेको संरक्षण समितिका अध्यक्ष श्रेष्ठले बताए।
वडा नं २ का वडाध्यक्ष प्रदीप कार्कीले ढुङ्गेधारामा पानीको मुहान सुकेको विषयमा आफूहरु जानकार रहेको तर सडक निर्माण भइसकेकाले आफूहरुले मात्रै पहल गरेर मुहान पत्ता लगाउन नसकिने बताए । उनका अनुसार बालकोटका ढुङ्गेधारा दुई–तीन सय वर्ष पुराना हुन् । “त्यसबेला पानी भए पनि चलनमा थिएन, एकपटक छिमेकी चीनका पर्यटक आएर त्यहाँको पानी खाएर स्वाद मीठो भएपछि बालकोट निवासी सबैले त्यहाँको धाराको पानी प्रयोग गर्न थालेका हुन्”, उनी भन्छन् ।
श्रेष्ठका अनुसार यहाँ पानी लिन मानिस काठमाडौँको कलङ्की र सिनामङ्गलदेखि आउने गर्दथे । बटुवालाई ढुङ्गेधाराबाट सफा र चिसो पानी प्राप्त हुने गरेको उनी स्मरण गर्छन् । बाटो ढलान, सडक कालोपत्र, मुहानभन्दा तल ढल निकास र कङ्क्रिटका घरका कारण पानीका मुहान सुक्दै गएको समितिका अध्यक्ष श्रेष्ठ बताउँछन् । अहिले धारोमा पानी पूरै सुकेको र ढुंगाधारा एकदमै फोहोर तथा लोप हुने अवस्थामा पुगेको उनले जानकारी दिए ।
खानेपानीका लागि हप्तामा एक दिन कुर्नुपर्ने भएकाले अब मेलम्ची खानेपानी आयोजनाको आशमा बालकोट रहेको जनाउँदै श्रेष्ठ भन्छन्, “अब केवल मेलम्चीको आश गर्नुबाहेक अर्को विकल्प रहेन ।”
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया