केन्याका नागरिकले जलाए संसद् भवन, ५ जनाको मृत्यु

काठमाडौं । केन्याका नागरिकले त्यहाँको संसद् भवन जलाइदिएका छन् । घटनामा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको छ ।
राजधानी नैरोबीमा रहेको संसद् भवनलाई संघर्षमा उत्रिएका आक्रोसित नागरिकको समूहले जलाइदिएका हुन् । नयाँ वित्त विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका केन्याका नागरिकले संसद् भवन नै जलाइदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मंगलबार हजारौं प्रदर्शनकारीहरू संसद भवनको सुरक्षा घेरा तोड्दै त्यसभित्र प्रवेश गरेका थिए । त्यस समय संसद् भवनभित्रै रहेका सांसदहरू प्रदर्शनकारीले आगजनी र तोडफोड थालेपछि भागेका थिए ।
प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको थियो । त्यस क्रममा पाँच जनाको मृत्यु भएको र केही घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सम्प्रेषण गरेको समाचारमा उल्लेख छ । मृत्यु हुने सबै प्रदर्शनकारी हुन् ।
ऋणको पासोमा बेस्सरी फसेको केन्या सरकारले अहिले राजस्वको ३७ प्रतिशत रकम ब्याज तिर्नमै खर्च गर्ने गरेको छ । त्यसबाट मुक्ति पाउने उपाय खोज्ने क्रममा नागरिक आवाज बेवास्ता गर्दै कर वृद्धिको कदम उठाएइको थियो । यसबाट २२ हजार ५२१ करोड रूपैयाँ उठाउने लक्ष्य राख्दै त्यहाँको सरकारले कर वृद्धिसम्बन्धी विधेयक अघि बढे पनि चर्को विरोधको सामना गरिरहेको छ । त्यहाँको संसद्को प्रमुख प्रतिपक्षी दल पनि कर वृद्धि उचित नभएको ठहरसहित विपक्षीमा उभिएकाले सरकार अप्ठ्यारोमा परेको छ ।
प्रतिक्रिया