NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

पार्टी सुधारेर रविलाई राजनेता बनाउन खोज्दा ममाथि कारबाही गरियो : ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले सिंगो पार्टी र सभापतिको हितका लागि आवाज उठाउँदा आफूमाथि कारबाही गरिएको आरोप लगाएका छन् । उनले आफ्नो चरित्र हत्या गर्ने श्रृंखला सुरु हुनसक्ने भन्दै त्यसका लागि आफू तयार रहेको बताए ।

‘सोचेँ, कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ । नेता होइन, राजनेता बनाउनु पर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

पार्टी प्रतिवेदन सार्वजनिक गरेर मिडियाबाजी गरेको, बुधबारको बैठकमा पार्टी अनुशासनविपरीत अभद्र र अशोभनीय कार्य गरेको आरोपमा उनलाई निलम्बन गरेको रास्वपाको भनाइ छ । तर ढकाल सरकारमा छँदा प्रतिवेदनहरू लुकाइएकाले बाध्य भएर आफू मिडियाबाजीमा उत्रेकाे बताउँछन् ।

बोलेकै आधारमा कारबाही गरेको रास्वपाले नजिकका व्यक्तिलाई परिचालित गरेर आफ्नो चरित्र हत्या गर्न सक्ने चिन्ता पनि उनले जाहेर गरे ।

‘अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ । केही परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ । एक स्टेप अघि बढेर मिडियामा ‘प्रमाण सहित’ यो, त्यो भनेर मेरो चरित्र हत्या हुनेगरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छ । आज बैठकमै भनिसक्नु भयो, मिडिया क्षेत्रको हेडमास्टर हो म,’ कारबाहीपछि ढकालले सामाजिक सञ्जालमा लेखेका छन् ।

रवि लामिछानेले देश बनाउने विश्वासमा कतिपय काम गलत हुन् भन्ने जान्दाजान्दै पनि गरेको उनले बताए । केन्द्रीय समितिमा कतिपय निर्णय पेलेरै गरिएको उल्लेख गर्दै उनले त्यो मैले गरेको थिएँ वा पछाडि अरु कोही थिए भन्ने कुरा बुधबारको बैठकले छर्लंग भएको उनले बताए ।

‘२ वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ । मलाई लाग्यो, उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ । कति कुरा गलत लाग्दालाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ । पेल्ने मान्छे म थिएँ वा केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो, त्यो आजको बैठकले छर्लंग भएको छ,’ ढकाले भनेका छन् ।

प्रचण्ड सरकारमा जाने सहमतिपछि आफूले आदेश शिरोपर गरेर प्रस्तुति दिएको तर सरकारमा पुगेपछिका कुराहरूका कारण शंका पलाएको उनको भनाइ छ । बलहठजस्तो देखिए पनि, अस्वाभाविक लागे पनि आफूले जनताको कुरा जस्ताको तस्तै बोलेको ढकालले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष