सिमलताल पहिरोः तीनवटै शवको पहिचान

भरतपुर । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ ।
गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनका अनुसार शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ । मृतकका दाजु विजय परियारले शवको सनाखत गरेका हुन् । वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बसमा उनी भरतपुरबाट चढेका थिए । मृतक विकासको शव नजिकै फेला परेको अर्काे शव पनि सिमलताल घटनामा बेपत्ता भएका यात्रुकै भएको पुष्टि भएको छ ।
उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझीको भएको प्रवक्ता रिजालले बताए । गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह भएको पुष्टि भएको छ । मृतकका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेकाे प्रहरीले जनाएको छ । दुई शव शनिबार नै आफन्तले लगेका छन् ।
शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदैै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा बगेका थिए । काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए । बेपत्ता बस र यात्रुको आज पनि खोजी सुरु भएको छ । पहिरो खसेको सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया