स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको सिएमसीमा गत वर्ष पाँच करोड बढीको निःशुल्क सेवा
चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा रु पाँच करोड ६१ लाख ८ हजार चार सय १३ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ ।
अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकसहित स्थानीय तहबाट सिफारिस भइआएका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिएको स्पष्ट गरेको छ ।
अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले सामाजिक उत्तरदायित्व बहन गरी अस्पतालले गरिब, असहाय, ज्येष्ठ नागरिक र स्थानीय निकायबाट सिफारिस भई आउने बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको जानकारी दिए ।
उनले भने, “आर्थिक हैसियत कमजोर भएका, परिवारका सदस्य एवं आफन्तजन नभएका असहाय गरिब र वृद्धवृद्धाले पनि निर्बाध रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मूल्यमान्यताअनुरुप निःशुल्क रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइएको हो, सेवा विस्तारसहित आसपासका जिल्लामा समेत स्वास्थ्य शिविर तथा शाखा सञ्चालन गरी सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरी आमजनताको विश्वास जित्ने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको छ ।”
एक प्रश्नको जवाफमा अस्पतालले दिएको निःशुल्क सुविधाबाहेक गत आर्थिक वर्षमा सङ्घीय सरकारले दिएको रु एक लाखसम्मको छुट लिने बिरामी सङ्ख्या नौ सय ९२, निःशुल्क डाइलासिस सेवा ६ हजार दुई सय ३१ र भरतपुर महानगरका महिलाहरुको निःशुल्क परीक्षण कार्यक्रमअन्तर्गत चार हजार तीन सय ९५ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ ।
यसैगरी, नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमअन्तर्गत गत वर्ष एक हजार ५५ गर्भवती महिलालाई निःशुल्क प्रसूति सेवासहित बाटो खर्चसमेत उपलब्ध गराएको प्रशासक देवकोटाले बताए ।
अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार अस्पतालमा गत आर्थिक वर्षमा दुई हजार चार सय ९६ जटिल प्रकृतिका शल्यक्रिया भएका छन्भने ठूलो सङ्ख्यामा मध्यम र सानातिना शल्यक्रिया भएका छन् ।
अस्पतालले २० भन्दा बढी अति विशिष्टीकृत सेवा दिँदै आएको छ । डा लम्सालले आर्थिक वर्ष २०८१÷८२ देखि स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालनमा ल्याइएको जानकारी दिए । चितवनवासीसहित बाहिर जिल्लाका बिरामीको मागलाई ध्यानमा राख्दै बीमा बोर्डसँग आग्रह गरेर पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।
अस्पतालले गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा एक लाख ८४ हजार २८ जनालाई सेवा दिएको छ । जसमा नयाँ बिरामी ५९ हजार पाँच सय ५१ रहेका छन्भने एक लाख सात हजार तीन सय ९९ जना ‘फलोअप’ बिरामी रहेका छन् । यसै अवधिमा १७ हजार ७८ जनालाई आकस्मिक सेवा उपलब्ध गराएको अस्पतालले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया