एक सय प्रहरी अधिकारीले एकैपटक अवकाश पाउँदै, सेवाहद हटाउन दौडधुप
काठमाडौं । नेपाल प्रहरीमा एकैपटक करिब एक सय सिनियर प्रहरी अधिकारीले अवकाश पाउने भएपछि ३० वर्षे सेवाहद हटाउन दौडधुप सुरु भएको छ । आगामी १५ भदौमा ठूलो संख्यामा सेवाहदका कारण प्रहरीले अवकाश पाउन लागेका हुन् । उनीहरु जागिर लम्बाउन लागिपरेका छन् ।
तर, त्यती सहज भने छैन । किनकी नेपाल प्रहरीमा विगत ३२ वर्षदेखि ३० वर्षे सेवाहदको राजनीति चल्दै आएको छ । ०४९ मा ३० वर्षे सेवाहद लागू गरी तत्कालीन आइजिपी रत्नशमशेर जबरालाई हटाएर मोतीलाल बोहरा आइजिपी बनेका थिए । बोहरालाई आइजिपी बनाउनकै लागि त्यसवेला सेवाहद हटाइएको थियो । उनलाई आइजिपी बनाएलगत्तै फेरि हटाइयो । पछि फेरि ०६४ सालदेखि सेवाहद लागू भयो । त्यसयता पटक–पटक सेवाहद हटाउन छलफल भए पनि दुईथरी प्रहरी अधिकारीको टक्करका कारण रोकिँदै आएको छ ।
विभिन्न अध्ययन प्रतिवेदनले पनि सेवाहद हटाउन सिफारिस गरेका छन् । प्रहरी सुधार सुझाव आयोग, २०५५ को प्रतिवेदनमा ‘उमेर र पदावधिको हदले नै विभिन्न तहका प्रहरी कर्मचारी विभिन्न उमेर पुगेपछि स्वतः अवकाशमा पर्ने हुनाले वर्तमान ३० वर्षे सेवा अवधि हटाउन उपयुक्त हुने देखिन्छ’ भन्ने सिफारिस थियो । युवराज संग्रौला नेतृत्वको सुरक्षा निकाय आधुनिकीकरण उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६५ ले प्रहरीको सेवानिवृत्तको आधार, उमेर र पदावधि मात्र कायम राख्न र ३० वर्षे अवधि हटाउने सिफारिस गरेको छ । त्यस्तै, कुवेरसिंह राना नेतृत्वको आयोगले पनि नेपाल प्रहरीको अवकाश सम्बन्धमा उमेरको हद र पदावधि मात्र कायम राख्नुपर्ने भनेको छ ।
तैपनि अवकाश हुन लागेका र नेतृत्वको दाबी गर्ने दुई ब्याचका अधिकारीबीचको संघर्षका कारण सेवाहदको प्रावधान संशोधन हुन सकेको छैन । आगामी १५ भदौदेखि नेपाल प्रहरीका डिआइजीसहित करिब सयजना सिनियर प्रहरीले अधिकृत ३० वर्षे सेवाहदका कारण अवकाश पाउँदै छन् । जसकारण उनीहरू जसरी पनि हटाउनुपर्ने पक्षमा लबिइङ गरिरहेका छन् । तर, प्रहरीमा आगामी चैतपछि आइजिपी हुने ब्याचका अधिकारी हटाउन नहुने पक्षमा छन् ।
३० वर्षे सेवाहदका कारण ५४–५५ वर्षमै धेरै उच्च प्रहरी अधिकारीले अवकाश पाउँदा राज्यले दक्ष जनशक्ति गुमाउने गरेको छ । अर्काेतर्फ भर्ना प्रक्रियामा राज्यको खर्च हुन्छ भने पेन्सनको भार पनि बढ्ने गरेको छ । नेपाल प्रहरीमा यस्तो सेवाहद विभेदकारी भएकोसमेत प्रहरीको गुनासो छ । नेपाली सेनामा सेवाहद छैन, प्रधानसेनापतिको अवकाशको उमेरहद ६१ वर्ष छ । राष्ट्रिय अनुसन्धान विभागमा भने चार वर्षअघि नै सरकारले ३० वर्षे सेवाहद बढाएर ३२ वर्ष बनाएको थियो । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले पनि हालै ३० वर्षे सेवाहद हटाउनुपर्ने निष्कर्षसहित प्रतिवेदन दिएको छ । मन्त्रालयका अनुसार सेवाहद हटाउने विभिन्न विकल्पसहित प्रतिवेदन बुझाइएको छ । आइजिपीको रोलक्रममा रहेका ब्याचका अधिकृतलाई समेत असर नगर्ने गरी सेवाहद हटाउन सकिने सुझाव प्रतिवेदनमा समावेश छ ।
क–कसले अवकाश पाउँदै छन् ?
नेपाल प्रहरीमा ३० वर्षे सेवाहदका कारण डिआइजी विष्णु केसीसहित करिब सयजनाले आगामी १५ भदौदेखि अवकाश पाउँदै छन् । यसमा १२ एसएसपी छन् । एसएसपीहरू जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई, रवीन्द्र रेग्मीले एकैदिन अवकाश पाउनेछन् ।
त्यस्तै, ११ एसपीले पनि अवकाश पाउनेछन् । कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवदेश विष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकनन्द इवा लिम्बू, चित्रबहादुर गुरुङ, नवीनकिशोर प्रधानले अवकाश पाउन लागेका हुन् ।
सशस्त्र प्रहरीका डिआइजीहरु अभि कुमार खत्री, दुर्गा भट्टराई, एसएसपी विश्व भट्टराई लगायतले पनि अवकाश पाउन लागेका छन् ।
अवकाश पाउन लागेका प्रहरीहरु संगठित रुपमा सेवाहद हटाउन शक्तिकेन्द्र धाइरहेका छन् । अर्काेथरी प्रहरी भने हटाउन नहुने पक्षमा लबिइङ गरिरहेका छन्।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया