NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

२ अर्बको क्रिप्टो कारोबार गर्ने युवकलाई प्रेमिकाले नै एक करोड ठगेपछि..

काठमाडौं । दुई अर्ब रुपैयाँ भन्दा धेरैको क्रिप्टो तथा सट्टाबाजी कारोबार गरेको आरोपमा पक्राउ काभ्रे मण्डनदेउपुर–८ का २४ वर्षिय अनिल ढुंगाना जेल चलान भएका छन् । तीन महिना लामो अनुसन्धान गरी गत साता भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । यस मुद्दामा प्रहरीले १२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । जसमा उनका परिवारका सदस्य, पूर्वप्रेमिका र साथीहरु छन् ।

सो मुद्दामा ११ जना फरार प्रतिवादी बनाइएको छ । जसमा काभ्रेका अच्युत नेपाल, राजीव ठकुरी, मनबहादुर तामाङ, विष्णुप्रसाद ढुंगाना, अस्मिता ढुंगाना तथा सीतादेवी ढुंगाना छन् । विष्णुप्रसाद अनिलका बुबा, सीतादेवी आमा र अस्मिता उनकी बहिनी हुन् । अपराधबाट कमाएको सम्पत्ति उनीहरुको नाममा राखेको भेटिएपछि आमा–बुबा समेत अपराधमा तानिएका हुन् । उनको बैंक खाताबाट बुबाको खातामा ३१ लाख तथा बहिनीको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको थियो भने आमाको नाममा भक्तपुरको सूर्यबिनायकमा जग्गा खरिद गरेका थिए । अच्युत, राजीवन र मनबहादुर उनीसँग मिलेर अनलाइन सट्टाबाजी धन्दामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, काठमाडौं–१ की आरती गुरुङ, मोरङका राजन पोखरेल, झापाका धिरेन सापकोटा, मोरङका अर्विन मेहता र नुवाकोटका विवेक रिमाललाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुमध्ये आरती आफ्नो पूर्वप्रेमिका भएको र उनले एक करोड रुपैयाँ जग्गा किन्न भनेर लगेर फिर्ता नगरेको अभियुक्त ढुंगानाको आरोप छ । पैसा फिर्ता माग्दा आफ्नो कामबारे बाहिर बताइदिने भनेर ब्लाकमेल गर्नुका साथै गुन्डागर्दीमा संलग्न व्यक्ति लगाएर धम्काएको उनको बयानमा उल्लेख छ । अनुसन्धानको क्रममा आरतीको सात वटा बैंक खातामा उनीबाट नौ करोड चार लाख ४४ हजार रुपैयाँ जम्मा भएको थियो । धुम्बाराहीको सोसाइटी अर्पाटमेन्टमा बस्ने आरती पनि फरार छिन् ।

ढुंगानाले अनलाइन बेटिङवापत विभिन्न ५६ वटा बैंक खातामा ६१ करोड ६४ लाख ५९ हजार एक सय २० रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ । एक अर्ब ३४ करोड ५२ लाख रुपैयाँ बराबरको क्रिप्टोे करेन्सीको कारोबार गरेका थिए । त्यस्तै, डिजिटल वालेटहरु इसेवा, आइएमइ पेमार्फत उनले दुई वर्षको अवधिमा पाँच करोड नौ लाख तीन हजार रुपौयँ बराबरको कारोबार गरेको प्रहरी अभियोग छ । यसरी ढुंगानाले यसरी उनले दुई अर्ब एक अर्ब १८ लाख रुपैयाँ बराबरको अवैध कारोबार देखिएको भन्दै सोही बराबर बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष