चङ्खेली जीप दुर्घटना : घाइतेको मृत्यु, तीन जनाको उपचार हुँदै
काँक्रेविहार । बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।
मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए ।
बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु खण्डको गौरीसल्लामा दुर्घटना भएको थियो । मल्लका दाई नाता पर्ने रोशन शाहीले भने, “रमेशले जीप किनेको चार/पाँच महिना मात्रै भयो । सानै उमेरमा बुबा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जीप किनेका थिए । रमेशका आमा, श्रीमती र दुई छोराछोरी छन् । उहाँ घरको एक्लो छोरा हुनुहुन्थ्यो ।”
दुर्घटनामा गम्भीर भएका अन्य तीन जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ रारा नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावतको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ । प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेकाले चङ्खेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया