NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

टान अध्यक्षमा माओवादीनिकट व्यवसायीको पल्लाभारी, प्रचण्डले दिए बधाई

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । आफ्ना प्रत्यासी राजेन्द्र सापकोटालाई रोक्दै पाण्डेले ट्रेकिङ व्यवसायीहरूको छाता संस्थाको नेतृत्वमा बाजी मारेका हुन् ।

पाण्डे माओवादी केन्द्रनिकट व्यवसायी हुन् भने सापकोटा कांग्रेसनिकट । सापकोटा गठबन्धन दल एमाले–कांग्रेसको साझा उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका भए पनि पाण्डेभन्दा बढी मत हासिल गर्न सकेनन् ।

मंगलबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार पाण्डेले ५८० मतका साथ जित दर्ज गराउँदा सापकोटा ४८० मतमा रोकिए ।

स्रोतका अनुसार गठबन्धनका उम्मेदवार सापकोटाप्रति एमालेनिकट व्यवसायी सन्तुष्ट थिएनन् । यही असन्तुष्टि  उनीहरूले मतदानमा प्रकट गर्दा पाण्डेको जित सुनिश्चित भएको हो ।

वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्षमा क्रमशः कर्मा शेर्पा, विष्णुप्रसाद लम्साल र सनम शेर्पा विजयी भएका छन् ।

महासचिव पदमा सोनाम ग्याल्जेन शेर्पा विजयी भए । आफ्ना प्रतिस्पर्धी राजेन्द्रप्रसाद सुवेदीलाई रोक्दै शेर्पाले महासचिवमा बाजी मारेका हुन् । शेर्पाले ५५० मतसहित जित निकाल्दा सुवेदी ४९४ मतमा रोकिए ।

त्यसैगरी, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा राजेन्द्रराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यसैबीच, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दलनिकट व्यवसायी टान अध्यक्षमा विजयी भएकोमा प्रसन्नता व्यक्त गरेका छन् ।

टानको अन्तिम मत परिणाम सार्वजनिक लगत्तै सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै प्रचण्डले पाण्डेको जितमा खुसी प्रकट गरेका हुन् । उनले पाण्डेको कार्यकाल सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष