ऊर्जामन्त्री खड्का र एडिबीका प्रतिनिधिबीच भेट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।
भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिए। उनले आगामी दिनमासमेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे । मन्त्री खड्काले एडिबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताएकाे ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए ।
दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न मन्त्री खड्काले एडिबीलाई आग्रह गरे । उनले नेपाल मध्यम आय भएको देशमा रुपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडिबीको साथ र सहयोग आवश्यक रहेको बताए ।
भेटमा एडिबीका प्रतिनिधि काउकोइसले एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आयोजना निर्माणमा देखिएका समस्याबारे मन्त्री खड्कालाई जानकारी गराएका थिए । उनले एडिबीले नेपालको विकासको क्षेत्रमा लामो समयदेखि साथ र सहयोग दिँदै आएको बताए ।
भेटमा मन्त्रालयका सचिव सिग्देल, ऊर्जा विज्ञ प्रवल अधिकारीलगायतले ऊर्जा क्षेत्रको विकासका लागि एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया