NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

लिपुलेक भारतको भएको अभिव्यक्ति दिने मेटमणिलाई सोध्यो एकीकृत समाजवादीले स्पष्टीकरण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ‘कालापानी र लिपेलेक भारतको हो’ भन्ने विवादास्पद अभिव्यक्ति दिने पार्टी उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

चौधरीले भदौ २५ गते साँझ प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पुगेर ‘लिपुलेक र कालापानी भारतको भएको’ विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले भनेका छन्, लिपुलेक र कालापानीमा इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ, मलाई लाग्छ, दाबी पुग्छ उसको । भारतले लिन पाउँछ । कालापानी लिपुलेक भारतको हो नि ।’

मुलुकको अखण्डताविरुद्ध चौधरीको यस्तो अभिव्यक्ति सार्वजनिक लगत्तै पार्टी महासचिव घनश्याम भुसालले एक पत्र लेखेर स्पष्टीकरण सोधेका हुन् । भुसालले मुलुकको अखडता र सार्वभौमसत्ताविरुद्ध अभिव्यक्ति दिएको ठहर गर्दै यसबारे तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न चौधरीलाई निर्देशन दिएका छन् ।

‘हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदित नै छ । त्यसविपरीत मुलुकको अखण्डता र सार्वभौमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो ? यसबारे तीन दिनभित्र लिखित रूपमा स्पष्टीकरण दिनुहोला,’ स्पष्टीकरण पत्रमा लेखिएको छ ।

मुलुकको अखण्डताविरुद्ध चौधरीले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

टेलिभिजन अन्तर्वार्तामा पुगेर एकीकृत समाजवादीका नेताले विवादास्पद अभिव्यक्ति दिएको एक साताभित्रकै यो दोस्रो घटना हो । केही दिनअघि मात्रै एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले स्वतन्त्र न्यायपालिकाको भावनामा चोट पुग्ने गरी आफू मन्त्री भएका बेला प्रधानन्यायाधीशलाई भेटेर घरबेटीसँग सम्बन्धित मुद्दाको स्टेअर्डर खारेज गराइदिएको बताएकी थिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष